बिर्तामाेड
झापाको बिर्तामोडस्थित स्पाइनल एक्स हस्पिटल ले नेपालकै मेडिकल क्षेत्रमा दुर्लभ मानिने दुवै घुँडाको लिगामेन्टको एकैपटक सफल शल्यक्रिया गरेर नयाँ रेकर्ड कायम गरेको छ।
सवारी दुर्घटनामा परेर दुवै घुँडाको लिगामेन्टमा गम्भीर क्षति पुगेका पाँचथरका डिल्ली सुवेदीको एकैपटक सफल अपरेशन सम्पन्न गर्दै हस्पिटलले जटिल शल्यक्रियामा महत्वपूर्ण सफलता हासिल गरेको हो। चिकित्सकहरूका अनुसार नेपालमा यस प्रकारको अपरेशन अत्यन्तै दुर्लभ मानिन्छ।
हस्पिटलका हाडजोर्नी तथा स्पाइन विशेषज्ञ डाक्टर प्रेमबहादुर शाही का अनुसार बिरामीको दुवै घुँडामा गम्भीर समस्या देखिएपछि सुरुमा शल्यक्रिया सम्भव हुन्छ कि हुँदैन भन्ने अन्योल रहेको थियो।
उहाँले भन्नुभयो,
“दुवै घुँडाको लिगामेन्ट एकैपटक अपरेशन गर्नु अत्यन्तै जटिल र दुर्लभ प्रक्रिया हो। हामीले जोखिम मोलेर शल्यक्रिया गरेका थियौँ, अहिले बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।”
डाक्टर शाहीका अनुसार घुँडाको लिगामेन्ट फाट्ने समस्या अत्यन्तै संवेदनशील हुने भएकाले उपचार प्रक्रिया पनि जटिल हुने गर्दछ। यस्ता बिरामीहरू उपचारका लागि महँगा अस्पताल वा विदेशसम्म जान बाध्य हुने गरेका छन्। तर अब बिर्तामोडमै आधुनिक प्रविधिसहित यस्तो जटिल उपचार सम्भव भएको उहाँको भनाइ छ।
उहाँले आर्थिक रूपमा कमजोर तथा विपन्न बिरामीलाई विशेष छुटको व्यवस्था गरेर उपचार सेवा प्रदान गर्दै आएको समेत जानकारी दिनुभयो। यसअघि पनि हस्पिटलले यस्तै प्रकृतिका धेरै जटिल बिरामीहरूको सफल उपचार गरिसकेको उहाँले बताउनुभयो।
डाक्टर शाहीका अनुसार स्पाइनल एक्स हस्पिटलमा गर्दनको हड्डी, ढाड तथा स्पाइनसम्बन्धी संवेदनशील समस्याको समेत सफल उपचार हुँदै आएको छ। आधुनिक प्रविधिको प्रयोग बढ्दै गएपछि बिरामीको लागत कम हुनुका साथै सहज उपचार सेवा उपलब्ध भइरहेको उहाँको भनाइ छ।
उहाँले सबै बिरामीलाई अनिवार्य रूपमा शल्यक्रिया गर्नुपर्ने नहुने पनि स्पष्ट पार्नुभयो। प्रारम्भिक अवस्थाका केही समस्या फिजियोथेरापीमार्फत निको पार्न सकिने भएकाले बिरामीको अवस्था मूल्यांकन गरेर मात्रै उपचार विधि तय गरिने गरिएको चिकित्सकहरूको भनाइ छ।
स्पाइनल एक्स हस्पिटल ले हाडजोर्नी तथा स्पाइनसम्बन्धी जटिल रोगहरूको उपचारमा विशेषज्ञ सेवा र आधुनिक प्रविधिको प्रयोग गर्दै पूर्वी नेपालमै विश्वासिलो स्वास्थ्य संस्था बन्ने लक्ष्यका साथ सेवा विस्तार गरिरहेको जनाएको छ।






















































