बिर्तामाेड । बिर्तामोड नगरपालिकाले अस्वभाविक रुपमा व्यबसायिक कर बृद्धि गरेको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघले मंगलबार नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । बिभिन्न १३ बुँदामा ब्यवसायीका समस्या र माग राख्दै वाणिज्य संघले नगरको ध्यानाकर्षण गराएको छ । 

व्यवसायिक कर कारोबारका आधारमा नभई पुँजीका आधारमा हुनुपर्ने, राजश्व कार्यालय भन्दा बढी स्थानीय तहको कर तेब्बर निर्धारण भएको भन्दै संसोधन हुनुपर्ने, व्यवसायीबाट असुल्दै आएको घर बहाल कर घरधनीले तिर्नुपर्ने, बिज्ञापन कर संसोधन गर्नुपर्ने, फोहोर मैला ब्यवस्थित गर्नुपर्ने, पार्किङ, सार्वजनिक शौचालय, सडक बत्ती लगायतको ब्यवस्था गर्नु पर्ने, व्यबसायीलाई सुरक्षा प्रदान गर्नु पर्ने र कर संकलन गर्दा ब्यवसायीसँग गरिने ब्यबहार सुधार्नु पर्ने माग वाणिज्य संघको छ । 

बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले नगरपालिकाले कर निर्धारण गर्दा नै ब्यवसायीलाई मारमा पार्ने नीति लिएको आरोप लगाए । नगरपालिकाको राजश्व परामर्श उपसमितिका सदस्यसमेत रहेका मैनालीले समितिको बैठक पुस्तिकामा हस्ताक्षर गराएर निर्णय थप गरिएको आरोप लगाए । ‘यो बैधानिक बाटोबाट गरिएको अबैधानिक काम हो, मैनालीले भने–‘यसको लागि हामी संघमा सल्लाह गरेर निर्णय लिन्छौं ।’

नगरपालिकाले किर्ते गरेर कर संकलन नीति निर्माण गरेको आरोप मैनालीले लगाए । करको दर र दायरा भन्दापनि नगरपालिकालाई करको नयाँ स्रोत खोज्न उनको सुझाव छ । मैनालीले आगामी दिनमा निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने बेलामा बिचार पु¥याउने बताए । 

वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नगरपालिकाले वाणिज्य संघसंग कर नीति निर्माणमा सहकार्य नगरेको आरोप लगाए । ‘वाणिज्य संघ नगरपालिकाकै एउटा अंग हो, न्यौपानेले भने–‘नगरले आफुखुशी कर नीति बनाउँदा यहाँका ब्यवसायी पलायन हुँदै गएका छन् । हामीसँग सहकार्य गरेर कर नीति निर्माण गर्न सके व्यवसाय मैत्री कर नीति बनाउन पहल गर्छाैं ।’ नगरपालिकाको कर नीति अब्यबहारिक भएका कारण पुर्वकै व्यापारिक ‘हब’ बिर्तामोडका ब्यवसायी बिस्थापित हुँदै गएको न्यौपानेले बताए । 

वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले आफ्ना माग एकसाताभित्र संबोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।