झापा । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। बिहीबार बिहान करिब ४ बजेर १० मिनेटमा भएको आगलागीमा परी गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको ज्यान गएको हो।
प्रहरीका अनुसार ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा रवि राजवंशीले सञ्चालन गर्दै आएको ठूला सवारीसाधन मर्मत केन्द्रको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
आगलागीको खबरपछि प्रहरी, दमकल र स्थानीयवासी तत्काल उद्धार तथा नियन्त्रणमा जुटेका थिए। उनीहरूको संयुक्त प्रयासमा बिहान ४ बजेर ३० मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। तर, आगो निभाउने प्रयास सफल भए पनि क्यान्टिनमा काम गर्ने तामाङको ज्यान जोगाउन सकिएन।
आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार क्यान्टिनमा मात्रै करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।
यस्तै, ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्सको गोदाममा समेत आगोको असर परेको छ। आगो निभाउने क्रममा गोदामभित्र रहेका करिब २० देखि २५ बोरा सिमेन्ट भिजेर क्षति पुगेको प्रहरीले जनाएको छ। उक्त क्षति करिब २५ हजार रुपैयाँ बराबरको अनुमान गरिएको छ।
आगलागीबाट भएको अन्य क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।






























































