बिर्तामोड । सन्तलाल–बृजमोहन गट्टानी स्मृति अर्जुनधारा हाफ म्याराथनको पुरुषतर्फ केन्याका जुलियस मुरिउकी वाहोमे र महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावलले उपाधि जितेका छन् ।

अर्जुनधारा जलेश्वरधामबाट सुरु भएको प्रतियोगितामा केन्याका जुलियसले निर्धारित दूरी १ घण्टा २ मिनेट १९ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ पहिलो स्थान हासिल गरेका हुन् । प्रतिस्पर्धात्मक दौडमा तीर्थकुमार पुन दोस्रो र विक्रम लिम्बू तेस्रो भए ।

त्यसैगरी, महिलातर्फ जुम्लाकी राज्यलक्ष्मीले १ घण्टा २१ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै उपाधि आफ्नो नाममा गरिन् । सम्झना लिम्बू दोस्रो हुँदा भारतकी प्रिया तामाङ तेस्रो भइन् ।

पुरुषतर्फ नरेन्द्र सिंह रावल चौथो, गजेन्द्र राई पाँचौँ, उमेश थापा छैटौँ, प्रीथी राई सातौँ, कृष्णबहादुर परियार आठौँ, विशाल तामाङ नवौँ र अमन देवनाथ दसौँ भए ।

महिलातर्फ जुलेन राई चौथो, दिप्ती बस्नेत पाँचौँ, इक्सा लिम्बू छैटौँ, रश्मा राई सातौँ, मन्दिरा महतरा आठौँ, सपना गदाइली नवौँ र सञ्जीला राई दसौँ स्थानमा रहे ।

प्रतियोगितामा दुवै विधाका विजेताले जनही १ लाख १ हजार १०० रुपैयाँ पुरस्कार प्राप्त गरे । दोस्रो हुनेले ७५ हजार १०० र तेस्रो हुनेले ५१ हजार १०० रुपैयाँ पाए । चौथोदेखि दसौँ स्थानसम्म हासिल गर्ने धावकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

अर्जुनधारा जलेश्वरधाममा सुरु हुन लागेको ४४औँ अनुष्ठानको प्रचारप्रसार गर्नुका साथै समाजमा बढ्दो लागूऔषध दुर्व्यसन न्यूनीकरणको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

खेलप्रेमी तथा व्यवसायी मिलन बस्नेतको संयोजकत्वमा गठित आयोजक समितिले प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले लागूऔषध दुर्व्यसनमा संलग्न व्यक्ति खेलाडी बन्न नसक्ने उल्लेख गर्दै खेलकुदलाई स्वस्थ, अनुशासित र मर्यादित जीवनको आधार बनाउनुपर्ने सन्देश दिएका थिए ।

प्रतियोगिता आयोजक समितिका सहसंयोजक प्रशान्त भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।