तेह्रथुमको आठराई गाउँपालिका भित्रका २५ वटा विद्यालयहरूमा २०७८ भदौ देखि रातो बङ्गला स्कुलको साझेदारीमा सञ्चालित ‘सार्थक बालसिकाइ कार्यक्रम’ को प्रगति प्रतिवेदन हस्तान्तरण तथा समापन कार्यक्रम सम्पन्न भएको छ ।


 गाउँपालिका स्थित सामुदायिक भवनको सभाहलमा बुधबार आयोजित एक विशेष कार्यक्रमका बिच गाउँपालिका भित्रका २५ वटा सामुदायिक विद्यालयका बाल कक्षामा देखिएका उत्साहजनक परिवर्तनहरू सार्वजनिक गरियो। 


आठराई गाउँपालिकाका उपाध्यक्ष वलीराज इङनामको  अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ,रातो बङ्गला स्कुलका प्रतिनिधिहरू,निमित्त प्रमुख प्रशासकीय अधिकृत, शिक्षा प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो। 

IMG_7158

कार्यक्रममा एक्सपर मिडिया एण्ड रिसर्च प्रा.लि. का कार्यकारी प्रमुख कुन्दन आचार्यले प्रतिवेदनको सारांश प्रस्तुत गर्दै कक्षाकोठाको सुध्रिएको व्यवस्थापन र बालकालिकाहरूमा आएको चारित्रिक तथा बौद्धिक विकास बारे प्रकाश पार्नुभयो ।

आठराई गाउँपालिकाभित्र ५९ वटा सामुदायिक विद्यालयहरू रहे पनि यो चरणमा २५ वटा विद्यालयलाई समेटेर कार्यक्रम अघि बढाइएको थियो। 

रातो बङ्गला स्कुलकी निर्देशक शान्ता दिक्षितले भिडियो सन्देशमार्फत बाल कक्षाका सहजकर्ताहरूको प्रेरणादायी कथा र बालबालिकामा देखिएको परिवर्तन नै यस कार्यक्रमको सबैभन्दा ठूलो सफलता भएको बताउॅनु भयो। 

IMG_7285

बाल कक्षाका बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर गरिएको शिक्षक तालिम, सिकाइ सामग्रीको उचित प्रबन्ध र अभिभावकको सोचमा आएको परिवर्तनले विद्यालयप्रतिको विश्वास बढेको सरोकारवालाहरूको निष्कर्ष छ।


रातो बङ्गला स्कुलले विगत दुई दशकभन्दा लामो समयदेखि ‘रातो बङ्गला साझेदारी कार्यक्रम (RBPOP)’ मार्फत देशका विभिन्न जिल्लाहरूमा शिक्षाको गुणस्तर उकास्न निरन्तर काम गर्दै आएको छ। 

यसअघि धादिङ, मकवानपुर, दैलेख, ललितपुर र म्याग्दी लगायतका जिल्लाहरूमा प्राथमिक शिक्षक तालिम र कक्षाकोठा सुधारका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। विशेष गरी दैलेख जिल्लाका ५१३ वटा सामुदायिक विद्यालयमा सञ्चालित ‘दैलेख परियोजना’ ले त अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित UNESCO Hamdan award समेत प्राप्त गरेर नेपालको सामुदायिक शिक्षाको प्रतिष्ठालाई उचाइमा पुर्‍याएको थियो।

IMG_7268

हाल आठराई गाउँपालिका मात्रै होइन, ललितपुर महानगरपालिका, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, गोरखाको भिमसेनथापा गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र बाराको निजगढ नगरपालिकामा समेत स्थानीय सरकारसँगको सहकार्यमा प्रारम्भिक बाल कक्षा तथा प्राथमिक कक्षाहरूमा शिक्षक तालिम र कक्षाकोठा सुदृढीकरणका अभियानहरू तीव्रताका साथ अघि बढिरहेका छन्। 


आठराईमा सार्वजनिक गरिएको यो प्रतिवेदनले सामुदायिक विद्यालयप्रतिको आम दृष्टिकोण बदल्न र बालबालिकाको भविष्य उज्ज्वल बनाउन स्थानीय तह र विज्ञ संस्थाबीचको सहकार्य कति प्रभावकारी हुन सक्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेको छ।

IMG_7158