झापा । लाउँ लाउँ र खाउँ खाउँ भन्ने उमेरमै बाध्यताका कारण उनी रोजगारी गर्न गए । घरको आर्थिक अवस्था कमजोर भएका बिर्तामोड–१० का उनले ब्लक फ्याक्ट्रीमा काम पाए । दमकको मेची एएसी गोर्खा ब्लक उद्योगमा बाबुसँगै काम गर्न थालेका १९ बर्षका कुमार कार्कीको एक महिनामै उनी दुर्घटनामा परे । उनको दाहिने हात नराम्ररी च्यापियो ।  

Messenger_creation_79acd1b4-34c3-4713-a8d9-4a39d88f2156

हात च्यापिएपछि बेहोस भएका उनलाई तत्काल दमकको एक हस्पिटलमा भर्ना गरियो । उनको उपचार त्यहाँ सम्भव नभएपछि बिर्तामोडको बिएण्डसी हस्पिटल लगियो । बिएण्डसीमा उनको हातको उपचार भयो, तर पूर्ण रुपमा भने निको भएको छैन । मंसिर २१ गते भएको सो दुर्घटनाका कारण कार्कीको रोजगारी गरेर सुखी जीवन जिउने सपना अधुरो मात्र रहेन, पारिवारीक संरचना नै आर्थिक रुपमा तहस नहस भयो । 

स्थानीय महेन्द्र ज्योती माविमा कक्षा १० मा अध्ययन गर्दै गरेको अवस्थामा आर्थिक अवस्था कमजोर भएकै कारण उनले पढाई बिचैमा छोडे । उनका बाबु तिलक पनि पहिलादेखि नै दमकको सोही ब्लक उद्योगमा काम गर्थे । उद्योगमा थप कामदार चाहिएको हुनाले उनले छोरालाई आफुसँगै काम गर्न लगेका थिए । काम गर्न सुरु गरेको एक महिना पनि नबित्दै उनलाई नसोचेको दशा आइलाग्यो । 


Messenger_creation_15a72cb5-a41f-4e65-a8ca-94c07bcc0d6cघाइते कुमारको उपचार गर्न कार्की परिवारको आर्थिक हैसियत पुगेन । ब्लक उद्योगका सञ्चालक आषिश प्रधानले उपचारमा लगभग १५ लाख रुपैयाँ खर्च उपलब्ध गराए । सानो लगानीको उद्योग भएको हुनाले प्रधानले पनि ठुलो खर्च गर्नु परेपछि यतिबेला सो उद्योग बन्द गरेका छन् । कार्की परिवार पनि प्रधानसँग थप रकम माग्न सक्दैन । 

उद्योग बन्द भएपछि बाबु तीलकको पनि रोजीरोटी सकियो । बिर्तामोड–१० मा भाडाको घरमा बस्दै आएका उनीहरु कृषि मजदुर हुन्  । उनीहरु गाउँ घरमा ज्याला मजदुरी गर्दै आएका छन् । 

१५ लाख खर्च गरेर उद्योग सञ्चालकले कार्कीको उपचार गरेपनि थप उपचार अझ बाँकी छ । उनको हातको नसा र हड्डीको अन्तिम अपरेसन गर्नका लागि अझै १० लाख रुपैंयाँ खर्च आउने चिकित्सकलाई उदृत गर्दै कार्कीले बताएका छन् । ‘एकातिर अपरेसनमा ढिलो गर्दा इन्फेक्सन भएर नसा सुक्दै जाने डाक्टरको चेतावनी सम्झिन्छु, अर्काेतिर उपचारका लागि एक पैसा पनि हामीसँग छैन, आमा कुमारीले भनिन्–‘यस्तो दशा आइलाग्यो, अब सहयोगी दाताहरुसँग हात फैलाउनुको बिकल्प हामीसँग रहेन ।’ छोराको हात पुर्ववत अवस्थामा फर्काउन जतिसक्दो चाँडो उपचार गर्नका लागि आर्थिक सहयोग गरिदिन उनले दाताहरुमा अनुरोध गरेकी छन् । 

सहयोगी हातहरु जुट्दा ठुला–ठुला समस्या समाधान भएको सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा देखेको बताउँदै उनले आफ्नो छोराको उपचारका लागि पनि सहयोग गरिदिन अनुरोध गरेकी छन् । कार्कीको उपचारमा सहयोग गर्न चाहनेले एनआइसी एशिया बैंकको पीडित कुमार कार्कीको नाममा रहेको खाता न २४६५७५३१३२०८७००१ मा सहयोग रकम जम्मा गर्न उनले आग्रह गरेका छन् ।