बिर्तामोड । नेपालको निर्माण यात्रासँग इँटा उद्योगको सम्बन्ध केवल व्यवसायमा सीमित छैन। घरदेखि विद्यालय, अस्पतालदेखि सडकसम्मका संरचनामा स्वदेशी श्रम, सीप र लगानी जोड्दै आएको इँटा उद्योगले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उद्योगीहरूले बताएका छन्।
नेपाल इँटा उद्योग महासंघको १८औँ वार्षिक साधारणसभा झापाको धुलाबारीमा सम्पन्न गर्दै सहभागी उद्योगी तथा सरोकारवालाले इँटा उद्योगलाई व्यवस्थित, प्रविधिमैत्री र उद्योगमैत्री वातावरण आवश्यक रहेकोमा जोड दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले औद्योगिक क्षेत्रलाई व्यवस्थित र सुदृढ नगरी समृद्ध नेपालको परिकल्पना पूरा हुन नसक्ने बताउनुभयो। उद्योगीका नीतिगत समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले लगानीकर्तालाई आत्मबलका साथ अघि बढ्न आग्रह गर्नुभयो।
“उद्योगीले लगानी गर्न डराउने होइन, राज्यले लगानीका लागि भरोसायोग्य वातावरण निर्माण गर्नुपर्छ,” भन्ने भावका साथ मन्त्री लिङ्थेपले उद्योग सञ्चालनमा देखिएका कानुनी तथा नीतिगत जटिलता सहज बनाउन आफ्नो कार्यकालमा भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले इँटा व्यवसायीलाई राष्ट्र निर्माणको मेरुदण्डका रूपमा चित्रित गर्नुभयो। उहाँले व्यवसायीलाई आफ्नो पेशाप्रति गौरव गर्न आग्रह गर्दै भन्नुभयो, “तपाईंहरू राष्ट्र निर्माणको एउटा मेरुदण्ड हो। इँटा व्यवसायी भएकोमा आत्मग्लानी भएको महसुस गर्नुभएको छ भने त्यसो नगर्नुस्, आफ्नो पेशाप्रति गौरव गर्नुस्।”
महासंघका अध्यक्ष कृष्णप्रसाद अवालले अनेकौँ चुनौतीका बीच पनि इँटा उद्योगले मुलुकलाई निर्माण सामग्रीमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले दक्ष जनशक्तिको अभाव, अदक्ष श्रमिकमा निर्भर हुनुपर्ने अवस्था तथा माटो ढुवानीका क्रममा व्यहोर्नुपर्ने प्रशासनिक झन्झटले उद्योगीलाई समस्यामा पारेको उल्लेख गर्नुभयो।
अध्यक्ष अवालले इँटामा नेपाल आत्मनिर्भर रहेको अवस्थामा स्वदेशी उद्योगलाई संरक्षण र प्रवर्द्धन गर्ने स्पष्ट राज्य नीति आवश्यक रहेको बताउनुभयो। उद्योगीलाई समस्या मात्र देख्नेभन्दा रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र निर्माण क्षेत्रलाई आवश्यक सामग्री उपलब्ध गराउने योगदानलाई राज्यले सम्मान गर्नुपर्ने उहाँको धारणा थियो।
कार्यक्रम महासंघका अध्यक्ष कृष्णप्रसाद अवालको अध्यक्षतामा सम्पन्न भएको थियो भने महासचिव केदार गोसाईंले सञ्चालन गर्नुभएको थियो।
साधारणसभाका अवसरमा लामो समयदेखि इँटा उद्योग क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यवसायी लोकनाथ खनाल र प्रकाश बुढाथोकीलाई सम्मान गरिएको थियो।
इँटाको प्रत्येक टुक्रामा उद्योगीको लगानीसँगै श्रमिकको पसिना र नेपालको विकासप्रतिको भरोसा जोडिएको छ। त्यसैले उद्योगीहरूको भनाइमा अबको आवश्यकता इँटा उद्योगलाई समस्याको सूचीमा राख्ने होइन, रोजगारी, उत्पादन र समृद्धिको आधारका रूपमा संरक्षण गर्दै आधुनिक प्रविधिसँग जोडेर अघि बढाउने वातावरण निर्माण गर्नु हो।






























































