बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–९ मा सोमबार आयोजित नातिनीको नरणको भोज खाएका ६० जनाभन्दा बढी बिरामी परेका छन्। बिरामीमध्ये केही उपचारपछि डिस्चार्ज भए पनि अधिकांश अझै अस्पतालमा उपचाररत छन्। केही बिरामीलाई आईसीयूसमेत राखेर उपचार भइरहेको बताइएको छ।
बिरामी परेकाहरूको प्रादेशिक अस्पताल मेची, बिर्तामोड नगर अस्पताल तथा विभिन्न निजी अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयका अनुसार भोजका लागि बिर्ताबजारस्थित गणेश फ्रेस हाउसबाट खरिद गरिएको कुखुराको मासु र सोमासु खाएपछि अधिकांशमा बिरामी हुने समस्या देखिएको हो। यद्यपि, बिरामी हुनुको वास्तविक कारण भने प्रयोगशाला परीक्षणपछि मात्रै पुष्टि हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।
घटना सार्वजनिक भएपछि बिर्तामोड नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाको संयुक्त टोलीले गणेश फ्रेस हाउसको अनुगमन गरेको छ। अनुगमनका क्रममा पसलमा सरसफाइमा लापरवाही भएको पाइएको भन्दै सञ्चालक गणेश श्रेष्ठलाई तीन दिनभित्र सरसफाइ सुधार गर्न अल्टिमेटम दिइएको छ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पटक–पटक चेतावनी दिँदा पनि सुधार नभएको भन्दै यसपटकको चेतावनी अन्तिम भएको बताउनुभएको छ। अनुगमनका क्रममा पसलका आवश्यक कागजातसमेत तीन वर्षदेखि नवीकरण नभएको पाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सुभाषचन्द्र वस्तीका अनुसार बिरामी हुनुको कारण पत्ता लगाउन कुखुराको मासुसहित विभिन्न खाद्य सामग्रीको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिनेछ। भोजमा प्रयोग गरिएको तेलको नमुना हल्दीबारीस्थित किराना पसलबाट समेत संकलन गरिएको छ। परीक्षणको नतिजाका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।
यता, प्रभावकारी बजार अनुगमनको अभावमा अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको प्रयोगबाट सर्वसाधारणले स्वास्थ्य जोखिम मोल्नुपरेको स्थानीयको गुनासो छ। उनीहरूले खाद्य वस्तुको गुणस्तर परीक्षण र बजार अनुगमनलाई नियमित तथा प्रभावकारी बनाउन माग गरेका छन्।
अब भोजमा प्रयोग भएका खाद्य सामग्रीकै कारण यति ठूलो संख्यामा मानिस बिरामी परेका हुन् वा अन्य कारणले, त्यसको वास्तविकता प्रयोगशाला परीक्षणको प्रतिवेदनपछि मात्रै स्पष्ट हुनेछ।






























































