बिर्तामोड । हिमाल आरोहणका क्रममा ज्यान गुमाएका साहसी आरोहीहरूको स्मृतिमा झापाको बिर्तामोडमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।

Messenger_creation_6254C4FB-821F-44C3-A56D-D25655ED4FDD

सैनिकमोड युथको आयोजना तथा अनारमनी सोसल युथ क्लबको सहकार्यमा ब्रड पिक आरोहणका क्रममा ज्यान गुमाएका निम्स पुर्जा सहित अन्य आरोहीहरूको सम्झनामा पानी वितरण तथा दीप प्रज्वलन गरिएको हो।

कार्यक्रममा सहभागी युवाहरूले दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको साहस, समर्पण र योगदानको स्मरण गरे। दीप प्रज्वलनमार्फत दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरिएको थियो।

अनारमनी सोसल युथ क्लबका अध्यक्ष राज मुखियाले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका निम्स पुर्जा लगायत सबै आरोहीको योगदान र साहसलाई सम्मान गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले युवाहरू केवल मनोरञ्जनमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व र मानवीय संवेदनासँग जोडिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै, सैनिकमोड युथका सन्दीप लिम्बूले कार्यक्रमको उद्देश्य तथा सञ्चालनबारे जानकारी दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मनीष लिम्बू, दीपेश नेपाल र इन्सो बेघालगायत सैनिकमोड युथका सम्पूर्ण सदस्यप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। पानी वितरण र दीप प्रज्वलनजस्ता सरल तर अर्थपूर्ण गतिविधिमार्फत दिवंगत आरोहीप्रति सम्मान व्यक्त गर्दै आयोजकले सामाजिक एकता, मानवीय संवेदना र आपसी सहयोगको सन्देश प्रवाह गरेको जनाएको छ।

हिमालको उचाइ नाप्ने क्रममा जीवन गुमाएका साहसी आरोहीहरूको सम्झनामा गरिएको यस कार्यक्रमले उनीहरूको साहस र योगदानलाई जीवित राख्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।