बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ बेलडाँगी डाँडागाउँ टोल विकास संस्थामा बसोबास गर्दै आएका ६२ वर्षीय मोहन मुर्मुको घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ।
खोलामा मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली घटनास्थलमा पुगेको थियो।
बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष किशोर पौडेलका अनुसार घटनास्थलमा अहिले मृतकको मुचुल्का उठाउने कार्य भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
मृत्युको यकिन कारण पुष्टि गर्न शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मेची लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा भएको यो घटनाले खोलानालामा जोखिमपूर्ण ढंगले विद्युतीय करेन्ट प्रयोग गर्ने प्रवृत्तिबाट हुनसक्ने गम्भीर दुर्घटनाप्रति समेत ध्यानाकर्षण गराएको छ।






























































