झापा । बाह्रदशी गाउँपालिकाको आगामी पाँच वर्षको विकास योजना निर्माणमा युवाको दृष्टिकोण समेट्ने उद्देश्यले झापाको बाह्रदशीमा ‘विकास–विचार प्रतियोगिता’ आयोजना हुने भएको छ।
नेकपा एमाले बाह्रदशी गाउँ कमिटीले ‘समृद्ध बाह्रदशी निर्माणका लागि एकीकृत योजना सहितको साझा दृष्टिकोण’ भन्ने मूल नारासहित प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा बाह्रदशीको विकासका लागि युवाहरूले देखेको सम्भावना, स्थानीय समस्या र त्यसको व्यावहारिक समाधानसहितको पाँचवर्षे विकास दृष्टि प्रस्तुत गर्नुपर्नेछ।
प्रतियोगिताको मुख्य विषय ‘बाह्रदशी विकासका लागि ५ वर्षे दृष्टि’ तय गरिएको आयोजक कमिटीका अध्यक्ष अनिल सापकोटाले जानकारी दिए। उनका अनुसार स्थानीयस्तरका वास्तविक समस्या पहिचान गरी तिनको समाधानका लागि आवश्यक योजना र भावी रणनीति युवाहरूबाटै सुन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
१३ देखि ४० वर्ष उमेर समूहका युवा तथा विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। कृषि आधुनिकीकरण, शिक्षा तथा सीप विकास, स्वास्थ्य, रोजगारी तथा उद्यमशीलता, पूर्वाधार, पर्यटन, डिजिटल सेवा, युवा तथा खेलकुदलगायत १२ वटा क्षेत्रमध्ये कुनै एक वा सबै विषयलाई समेटेर प्रतियोगीले आफ्नो अवधारणा प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ।
प्रतियोगीले बढीमा ५ मिनेटको भिडियो प्रस्तुति तयार गरी आगामी असोज २३ गते दिउँसो ४ बजेसम्म आयोजकको आधिकारिक ह्वाट्सएप नम्बरमा पठाउनुपर्नेछ। बाह्रदशी गाउँपालिकाका स्थायी बासिन्दा तथा बाह्रदशी क्षेत्रमा अध्ययन, पेशा वा व्यवसाय गर्ने १३ देखि ४० वर्ष उमेर समूहका युवा सहभागी हुन पाउनेछन्। सरकारी तथा शिक्षण पेशामा कार्यरत व्यक्ति भने सहभागी हुन नपाउने जनाइएको छ।
प्राप्त भिडियोमध्ये आन्तरिक मूल्याङ्कनबाट उत्कृष्ट ४० वटा छनोट गरी असोज २५ गते घटस्थापनादेखि ‘नेकपा एमाले बाह्रदशी’को आधिकारिक फेसबुक पेजमार्फत क्रमशः सार्वजनिक गरिनेछ। त्यसपछि सामाजिक सञ्जालमा प्राप्त लाइक, कमेन्ट र सेयरसँगै विज्ञहरूको मूल्याङ्कनका आधारमा प्रतियोगी छनोट गरिने आयोजकले जनाएको छ।
छनोट भएका प्रतियोगीलाई विशेष ओरिएन्टेशन क्याम्प तथा कार्यशाला तालिम प्रदान गरिनेछ। त्यसपछि मंसिरको पहिलो साता राजगढस्थित एभरेष्ट डिजिटल सिनेमा हलमा प्रतियोगिताको भव्य फाइनल राउन्ड आयोजना गरिनेछ।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार रुपैयाँ, द्वितीयले १५ हजार रुपैयाँ र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै थप सात जना प्रतियोगीलाई जनही ५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
युवाको सिर्जनात्मक सोच, स्थानीय अनुभव र विकाससम्बन्धी अवधारणालाई नीति निर्माणसँग जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताले बाह्रदशीको भावी विकासको बहसलाई नयाँ दिशामा लैजाने आयोजकको विश्वास छ। युवाहरूको बौद्धिक पलायन रोक्दै विकास निर्माण र नीति निर्माणमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यसमेत प्रतियोगिताले बोकेको एमाले बाह्रदशीले जनाएको छ।






























































