बिर्तामोडमा आगलागीका घटना एकपछि अर्को दोहोरिन थालेपछि सहरको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। केही साताअघि भद्रपुर रोडमै भएको भीषण आगलागीबाट आधा दर्जनभन्दा बढी घरमा क्षति पुग्दै करोडौँको धनमाल नष्ट भएको थियो। त्यसको घाउ सेलाउन नपाउँदै मंगलबार फेरि सोही क्षेत्रमा अर्को भीषण आगलागी भएको छ। यसपटकको आगलागीबाट मात्रै करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडस्थित स्थानीय राजेश मण्डलको दुईतले घरमा मंगलबार बिहान करिब १०ः४० बजे अचानक आगलागी भएको हो। आगो तीव्र गतिमा फैलिँदा घरमा भण्डारण गरिएका ठूलो परिमाणका सामग्री जलेर नष्ट भएका छन्।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासी, सुरक्षाकर्मी र दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिए पनि आगो नियन्त्रणमा लिन निकै कठिन भएको थियो। आगो नियन्त्रणमा लिन नसकिएपछि थप प्रभावकारी प्रयासका लागि जेसीबीसमेत प्रयोग गर्नुपरेको थियो। लामो प्रयासपछि दिउँसो ३ः४० बजे मात्रै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।आगलागी नियन्त्रणमा सुरक्षाकर्मी, दमकल र स्थानीयवासी दिनभर खटिनुपर्ने अवस्था आफैँमा सहरको अग्नि सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने संकेत हो।

अब आगलागी भएपछि क्षतिको विवरण संकलन गर्ने र उद्धारमा खटिने मात्रै होइन, आगलागी हुनै नदिने पूर्वतयारीमा पनि ध्यान दिन जरुरी छ। प्रत्येक घर, व्यापारिक भवन तथा गोदाममा सुरक्षित विद्युतीय प्रणाली, अग्नि नियन्त्रण उपकरण, पर्याप्त पानीको व्यवस्था र तत्काल सूचना प्रवाह गर्ने प्रविधि अनिवार्य बनाइनुपर्छ।

सम्बन्धित निकायले पनि भवन तथा गोदामको नियमित सुरक्षा परीक्षण, अग्नि सुरक्षा मापदण्डको कडाइका साथ कार्यान्वयन र दमकलको सहज पहुँच सुनिश्चित गर्न ढिलाइ गर्नु हुँदैन।

किनकि, आगलागीपछि करोडौँको क्षति हुनु केवल एउटा घर वा व्यवसायको नोक्सानी होइन, यो सिंगो सहरको सुरक्षा व्यवस्थामाथि उठेको चुनौती हो। बिर्तामोडलाई आगलागीको जोखिमबाट सुरक्षित सहर बनाउने हो भने अब आश्वासन होइन, ठोस तयारी र प्रभावकारी कार्यान्वयन आवश्यक छ।