किराँत राई समुदायको संस्कार अनुसार शुभ वा अशुभ कार्य गर्दा नाक्छोङ नभई नहुने पात्र हो । ती नै पात्रलाई आधार मानेर निर्माण गरिएको चलचित्र नाक्छोङ को ट्रेलर आइतबार इटहरी स्थित ईलाइट सिनेमा हलमा रिलिज गरिएको थियो । त्यस लगत्तै यसलाई ओएसआर डिजिटल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ट्रेलरमा देखाइए अनुसार नायकको पापाको मृत्यु भएको छ । दोमासे परेको कारण चाँडो भन्दा चाडो मृत्यु भएको पापालाई बाटो लगाउनु पर्ने जिम्मेवरी नायक र उसको परिवारलाई आएको छ । छोरा चाहान्छ पापाको इच्छा अनुसार कुल कै नाक्छोङलाई ल्याएर उक्त कार्य सम्पन्न गर्न लगाउने, तर यता समय कम भएको कारण आफन्तले अन्य राई थरकै नाक्छोङलाई ल्याएर भए पनि अन्तिम सस्कार सकि हाल्न चाहान्छ । यहि दुई बीचको दन्द्ध र कुलको नाक्छोङ ( बिजुवा ) को खोजीमा गर्नु परेको संघर्षलाई ट्रेलरमा देखाउन खोजिएको छ ।

किराण राईको लेखन तथा निर्देशन रहेको नाक्छोङको निर्माताको रुपमा ज्योतिराज राई रहनु भएको छ । यस अघि नै बेलायतका बिभिन्न शहरहरुमा प्रदर्शन भइसकेको ‘नाक्छोङ’लाई त्यहाँका गोर्खाली दर्शकहरुले असाध्यै मन पराइदिनु भएको थियो । टे«लरमा प्रदर्शन मिति तय नगरिए पनि चाडै नै नेपाली दर्शकहरु बीच यो चलचित्र प्रदर्शन गर्ने निर्माता ज्योतिराज राईले बताउनु भयो । उहाँको अनुसार ‘नाक्छोङ’ चलचित्रले समाजमा लोपोन्मुख आत्मिक अनुशासन, कुल मान्यता, पितृ पूजा र मौलिक संस्कारको पुनःस्मरण गराउने छ । 

निर्देशक राई आफ्नो स्वर्गिय बुवालाई याद गर्दै भन्नु हुन्छ “यो मेरो आफ्नै भोगाइबाट निस्किएको कथा हो ।” बुबाको मृत्युपछि नाक्छोङ खोजीको लागी गर्नु परेको संघर्ष र किरात राईहरुको रितीरिवाज अनि संस्कारमा आइरहेको परिवर्तनले नाक्छोङहरु लोप हुदै गइरहेको महशुषले गर्दा पनि यो कथा भन्नु पर्छ भन्ने उहाँलाई त्यहि बेला लागेको रहेछ । उहाँ भन्नुहुन्छ “यो केवल राई समुदायको संस्कृति चित्रण गर्ने चलचित्र मात्र नभई समग्र नेपाली समाजमा जातीय पहिचान, मौलिकता र परम्परा प्रतिको सम्मान बोध जगाउने सशक्त माध्यम हो । दर्शकहरुले पुरै नाक्छोङ फिल्म हेरेपछि यस बिषयमा अझ बिस्तृत रुपमा बुज्नु हुनेछ ।”

भुवन सिंह राईको मुख्य भुमिका रहेको यस चलचित्रमा, यासेली योङ्हाङ, सागर केरुङ ,बबिन राई ,शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पुर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय शुब्बा कुरुङ्बाङ, बिनोद पोमो , तुलशा लिम्बु , मदन खोदूङ राई ,ससिता राइर्, रसा लिम्वू , मीसन बान्तावा राई र बाल कलाकार जेशन राई लगायतको अभिनय रहेको छ ।