बिर्तामोड ।
झापा अर्जुनधारा ६ का श्रेयन्स चौधरी कक्षा ४ मा पढ्छन् उनले भर्खरै सम्पन्न सुपर लिटल प्रिन्स झापाको सिजन टुको उपाधि जिते। उनी भविष्यमा ठूलो बिजनेसम्यान बन्न चाहन्छन्। तर सानै उमेरमा प्राप्त गरेको यो उपाधिले उनमा कन्फिडेन्स लेभल बढेको उनले अनुभव गरे।

सोही विधातर्फ अर्की बालिका एन्जल लिंदेन प्रिन्सेस तर्फको उपाधि जित्न सफल भइन्। उनले भनिन् भविष्यमा म हिरोइन वा मोडल बन्न सकुँला या नसकुँला तर ममा केही गर्न सक्छु भन्ने हिम्मत पलाएको छ।
बालबालिकाहरूलाई क्षमतावान बनाउनका निमित्त बिर्तामोडमा सञ्चालित पीएस प्रोडक्सन इन्टरटेन्मेन्टले झापाली बालबालिकाहरूलाई सो अवसर दिलाएको छ। करिब ४० दिनको तालिम दिइसकेपछि फाइनलको लागि बालबालिकाहरूलाई प्रतिस्पर्धामा उतारिएको थियो। प्रतियोगितामा सहभागी सबै बालबालिकाहरूको एउटै बुझाइ थियो, हामीमा हिम्मत जागेर आएको छ। केही गर्न र केही भन्न सक्ने भएका छौं उनीहरुले पत्रकारहरुसँग आफ्नो अनुभव सुनाए ।
मिस्टर एण्ड मिस रोयल झापा सिजन–२ को उपाधि भद्रपुर–८ की प्रेन्सी ओली र बिर्तामोड–५ का पेशल निरौलाले जितेका छन् भने सुपर लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२५ को उपाधि श्रेयन्स चौधरी र एन्जल लिङ्देनले हात पारेका छन् ।

झापाको बिर्तामोडमा पीसीएस प्रोडक्सन इन्टरटेन्टमेन्टको आयोजना भएको यी दुई प्रतियोगितामा उनीहरुले उपाधि हात पारेका हुन् । गत असार ७ गते भएको प्रतियोगिताको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी पीसीएस प्रोडक्सनका प्रबन्ध निर्देशक चेतनसिंह बस्नेतले जानकारी दिनुभयो ।
बालबालिका तथा युवायुवतीको प्रतिभा विकास, आत्मविश्वास र नेतृत्व क्षमतामा सक्षम बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा विजेताहरुले उपाधिसँगै तीन लाख रुपैयाँ बराबरको उपहार पाउने बस्नेतले बताउनुभयो । साथै, उनीहरूलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहभागी हुन गेटवे टिकट पनि उपलब्ध गराइने उहाँले बताउनुभयो ।
मिस्टर एण्ड मिस रोयल झापा सिजन–२ को उपविजेता दिपिका माझी र साम्राज्ञी थपलिया, भ्यूवर च्वाइ दिपिका माझी, मल्टिमिडिया अवार्ड आइसिका चाम्लिङ राई, अर्गनाइजर च्वाइस दिजेश थापा मगर र ब्राण्ड एम्बेसेडर सुहाना थापा हुनुभएको छ ।

त्यस्तै, सुपर लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२५ को उपविजेता अन्सु लिम्बू, प्रनिशा बराल, भ्यूवर च्वाइ श्रेयान्स चौधरी, मल्टिमिडिया अवार्ड युमा पोखरेल, अर्गनाइजर च्वाइस श्रेयस्क खनाल र ब्राण्ड एम्बेसेडर एमिई श्रेष्ठ हुनुभएको छ ।
सामाजिक तथा राजनीतिक व्यक्तित्व सुधीर शिवाकोटीको नेतृत्वमा अर्शु महर्जन, विवेस राई र गीत बस्नेतको निर्णायक मण्डलले विजेता प्रतिभा छनोट गरेको हो ।
विजयी प्रतियोगीहरुले ४० दिने प्रशिक्षण दिइएको थियो । विजेताहरुले प्रतियोगितामा सहभागी भएपछि धेरै कुरा सिक्नुका साथै आत्मविश्वास बढेको बताएका छन् ।
प्रतियोगितामा ७ देखि १४ वर्ष र १४ र २१ वर्ष गरी दुई उमेर समूहमा ५० जनाले प्रतिस्पर्धा गरेका थिए । झापाका तीन स्थानमा भएको अडिसनमा एक सय जनाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
वि.सं. २०७७ मा स्थापना भएको पीसीएस प्रोडक्सनले हालसम्म आठ वटा सौन्दर्य प्रतियोगिता र थुप्रै सहकार्यात्मक कार्यक्रमहरू गरेको संस्थाका सिईओ पुकार कार्कीले बताउनुभयो । संस्थाले प्राप्त गरेको लाभको केही हिस्सा सामाजिक कार्यमा पनि लगानी गर्दै आएको उहाँले बताउनुभयो ।
निकट भविष्यमा पीसीएस प्रोडक्सनले मिस्टर एण्ड मिस पूर्वाञ्चल आइकन–२०२५ र पूर्वाञ्चल लिटर राइजिङ स्टार–२०२५ आयोजना गर्न लागेको सिईओ कार्कीले बताउनुभयो ।






























































