झापा महिला गोल्डकपमा आज आर्मी र भारतीय टोली खेल्दै
दुधे, मंसिर ६ । दोस्रो संस्करणको एक्स्ट्रिम झापा महिला गोल्डकपमा आज दोस्रो क्वार्टर फाइनल खेल हुँदैछ । आज दुधे रंगशालामा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले भारत दिल्लीको एभी फुटबल क्लबको सामना गर्दैछ ।
आर्मीले राष्ट्रिय टिमका सदस्य बिमला विक, दिपा शाही, अनिता लम्जेल, दिपा राई, जेनिफर राना, सुक्रिया मिया, चन्द्रा भण्डारी, बिमला चौधरी लगायतका खेलाडी मैदानमा उतार्नेछ ।
त्यस्तै, भारत दिल्लीको एभी फुटबल क्लबले श्रेयाश्री केस, सुदिप्ता रोय, अनुस्का राई, अनुस्का लिम्बु, आकृति लगायतका अनुभवी खेलाडी टिममा समावेश गरेको छ ।
प्रतियोगितामा आयोजक झापा–११ सहित आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको एभी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुन आर्मी एफसी र सशस्त्र प्रहरीको एपिएफ एफसीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैंयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिड फिल्डर, डिफेनडर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैंयाँ पुरस्कार पाउनेछ ।