बिर्तामोड । आस्था, श्रद्धा र सेवाभावको पवित्र सङ्गम बनेको महा नवमीको अवसरमा श्री छठ समाजसेवा समिति बिर्तामोडले चारआलीस्थित पाउपाथिभरा मन्दिरमा भण्डारा सञ्चालन गरेको छ। देवी दुर्गाको आराधना, पूजापाठ र भक्तिमय वातावरणबीच आयोजित भण्डारामा हजारौँ भक्तजनले भोजन तथा प्रसाद ग्रहण गरेका छन्।

धार्मिक आस्थालाई मानव सेवासँग जोड्दै समितिले गत वर्षदेखि सुरु गरेको यस पुण्यकार्यलाई यस वर्ष पनि निरन्तरता दिएको हो। महानवमीको पावन दिनमा मन्दिरमा दर्शन गर्न पुगेका भक्तजनलाई भोजन तथा प्रसाद वितरण गर्दै समितिले सेवा नै धर्म हो भन्ने भावनालाई व्यवहारमा उतारेको छ।
महा नवमीको धार्मिक महत्त्वसँगै सामाजिक सद्भाव, आपसी प्रेम र मानवीय सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ। धार्मिक पर्वलाई केवल पूजाआराधनामा सीमित नराखी दुःखी, असहाय तथा सर्वसाधारणको सेवासँग जोड्ने प्रयासले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको छ।
लोकराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डा. गौरीशंकर झा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। समितिकी अध्यक्ष संगीता रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन जयकुमार झाले गर्नुभएको थियो।
कार्यक्रममा समितिका पूर्वअध्यक्ष प्रेमचन्द्र चौधरीसहित पदाधिकारी देवेन्द्र सिंह, रामेश्वर दुबे, घनश्याम चौधरी, हेमलता चौधरीलगायतको उपस्थिति रहेको थियो।
धार्मिक श्रद्धा, सेवाभाव र सामाजिक एकतालाई आत्मसात् गर्दै अघि बढिरहेको श्री छठ समाजसेवा समितिले आगामी वर्षहरूमा पनि प्रत्येक महानवमीका दिन भण्डारा सञ्चालन गर्ने जनाएको छ। भक्तजनलाई श्रद्धापूर्वक भोजन तथा प्रसाद वितरण गरिएको यस कार्यक्रमले धर्मको सार मानव सेवा, परोपकार र आपसी सद्भावमा निहित हुन्छ भन्ने प्रेरणादायी सन्देश दिएको छ।






























































