नेपाल नेपालीको पहिलो अनलाइन लोकदोहोरी गोर्खाली भ्वाइस लोकदोहोरी सिजन ३ को ग्रान्ड फिनाले संगीतप्रेमीहरूको मन जित्दै सम्पन्न भएको छ । नेपाली लोकदोहोरीको मौलिकता, संस्कार, संस्कृति र परम्परालाई प्रवद्र्धन गर्दै प्रतियोगितामा प्रतियोगीहरूले आ–आफ्नो स्वर क्षमताको प्रदर्शन गरेका थिए । 

गोर्खाली भ्वाइस लोकदोहोरी सिजन ३ को पुरुषतर्फ बसन्त गिरी र महिलातर्फ विष्णु थापा मगरले गोर्खाली भ्वाइस लोकोदोहोरी सिजन–३ को उपाधि जित्न सफल भएका छन्् । विश्वभरका लोकदोहोरी पारखीहरु सहभागी भएको प्रतियोगिताबाट दोस्रो स्थान अनुश अधिकारी, तेस्रो स्थान करण विश्वकर्मा र सन्त्वाना अर्जुन न्यौपानेले पाएका छन् । यसैगरी महिलातर्फ प्रथम विष्णु थापा मगर, दोस्रो शिला गुरुङ, तेस्रो स्थान संचिता चेपाङ र रिमा थापा भएकी छन् ।

गोर्खाली भ्वाइस लोकदोहोरी सिजन ३ नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभाहरू खोज्ने र तिनलाई मञ्च प्रदानगर्ने उद्देश्यका साथ आयोजना गरिएको हो । सिजन ३ को प्रतियोगिता शुरूदेखि नै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो । देशभरबाट धेरै प्रतिभाशाली गायक गायिकाहरूलले यस प्रतियोगितामा आ– आफ्नो सुमधुर आवाज प्रस्तुत गर्नुभएको थियो । प्रारम्भिक चरणदेखि नै प्रतियोगीहरूले आ–आफ्नो गायन क्षमताको परिचय दिँदै अगाडि बढेको आयोजकले जनाएको छ ।

 यस ऐतिहासिक प्रतियोगितालाई सफल बनाउन दिनरात खट्ने आयोजक टिम, प्रायोजक, प्राविधिक टिम, निर्णायक मण्डल, तथा सम्पूर्ण दर्शकवृन्दलाई हृदयदेखि धन्यवाद व्यक्तगर्दै गोर्खाली भ्वाइसको यो सिजन पनि अघिल्ला सिजनहरू जत्तिकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको आयोजक संस्थाका निर्देशक संजय पौड्यालले बताउनु भएकोछ ।  

प्रतियोगीहरूले आ–आफ्नो गायन क्षमताको प्रदर्शन गर्दै नेपाली संगीत क्षेत्रमा आफ्नो स्थान बनाउने प्रयास गरेका थिए । विजेतालाई उपाधि, पुरस्कार राशि र संगीत उद्योगमा अगाडि बढ्ने अवसरहरू प्रदान गरिनेछ । यसका साथै, अन्य प्रतियोगीहरूले पनि यस प्रतियोगिताबाट धेरै सिकेर आफ्नो संगीत यात्रा अगाडि बढाउने आशा गरिएको निर्माता विश्वास आचार्यले बताएका छन् । यस प्रतियोगिताको निर्णायक मण्डलमा नेपाली संगीत क्षेत्रका हस्तीहरू समावेश थिए । उनीहरूले प्रतियोगीहरूको प्रदर्शनलाई विभिन्न मापदण्डहरूमा मुल्याङ्कन गरे ।  अनलाइनको माध्यमबाट नतिजा सार्वजनिक गर्दै अस्ट्रेलियाबाट कार्यक्रमका जुरी रमेश बिजीले गर्नुभएको थियो । त्यसैगरी जापानबाट कार्यक्रम निर्माता विश्वास आचार्य कार्यक्रम प्रस्तोता कुमार परियार र निर्णायकको तर्फबाट गायक तथा संगीतकार सर्जक रमेश रामचन्द्र चन्द उपस्थित रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि इन्द्र जिसीले प्रतियोगिताबाट बिजेता सबैलाई शुभकामना व्यक्तगर्दै सिजन ३ मा सम्पूर्ण प्रतियोगी साथीहरू अब्बल क्षमतावान रहेको बताउनुभएको छ । उनले भने, ‘उपाधि मात्रै सबथोक होइन् क्षमता प्रस्तुतगर्ने माध्यमबाट अगाडि बढाउन सके त्यसले सफलताको शिखर चुम्नेछ ।’ विजेताहरुले यस प्रतियोगिताबाट न केवल उपाधि जितेका छन्, तर उनीहरूले पुरस्कार राशि र संगीत उद्योगमा आफ्नो करियर अगाडि बढाउने अवसर पनि प्राप्त गरेका छन् । यस उपलब्धिले उनीहरूको संगीत यात्रालाई नयाँ मोड दिने अपेक्षा गरिएको छ । 

बालाजु स्थित राजधानी रोधी साँझमा समापन कार्यक्रम आयोजना गरी बिजेताहरुलाई पुरस्कार प्रदान गरेका हुन् । प्रथम हुने नगद ५२ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र साथमा गिफ्ट ह्याम्पर पाएका छन् । त्यस्तै द्वितिय हुनेले नगद ३२ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाण पत्र, साथमा गिफ्ट  ह्याम्पर तृतिय हुनेले नगद २२ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाण पत्र साथमा गिफ्ट ह्याम्पर पाएका छन् । उनीहरुलाई प्रमुख अतिथि इन्द्र जिसीले पुरस्कार हस्तान्तरण गरेका थिए कार्यक्रममा स्वागत मन्तव्य आयोजक तर्फबाट आयोजक सदस्य धना चौलागाई, सभाध्यक्ष संजय पौड्याल प्रमुख अतिथि इन्द्र जिसी विशेष अतिथि गाइका कमला पोख्रेल, विशेष अतिथि गायक तथा सर्जक कम्पोजर साजन कुँवर, कार्यक्रम सञ्चालन सिजन २ को प्रथम विजेता सुमन न्यौपाने ले गरेका थिए । त्यसैगरी कार्यक्रममा विभिन्न गीतसंगीतका ख्याति गायक गायिका सर्जक संगीतकारहरूको र विभिन्न सांगीतिक संस्थाबाट अतिथिहरु बाक्लो उपस्थित रहेको थियो । गोर्खाली भ्वाइस लोकोदोहोरी सिजन ३ को यो सफलता नेपाली संगीत क्षेत्रको लागि ठूलो उपलब्धि हो ।