कुवेतको उत्तरी क्षेत्रमा इरानबाट भएको ड्रोन आक्रमणमा परीतेह्रथुम आठराईका एक नेपाली नागरिकको मृत्यु भएको छ।

कुवेतस्थित नेपाली राजदूतावासले सार्वजनिक गरेको आधिकारिक सूचनाअनुसार, सन् २०२६ जुलाई ३० मा भएको ड्रोन आक्रमणमा कुवेतमा सवारी चालकका रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४५ वर्षीय सोमकुमार तामाङको दुःखद निधन भएको हो।

मृतक तामाङ तेह्रथुम जिल्ला, आठराई गाउँपालिका–६, चुहानडाँडा, हात्तिखर्क निवासी रहेको खुलेको छ। घटनापछि कुवेतको परराष्ट्र मन्त्रालयबाट नेपाली राजदूतावासलाई आधिकारिक जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।

राजदूतावासले मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै, मृतकको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँगको समन्वयमा अघि बढाइएको जनाएको छ।

यसैबीच, कुवेतमा रहेका सबै नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा निर्देशिकाको पूर्ण पालना गर्दै सुरक्षित स्थानमा रहन नेपाली राजदूतावासले अनुरोध गरेको छ।