झापा, साउन १४ – झापाको बिर्तामोड नगरपालिका–५ पुरानो भद्रपुर रोडस्थित सतानु पैनी क्षेत्रमा आज बिहान भएको भीषण आगलागीमा तीन वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने थप तीन घरमा आंशिक क्षति पुगेको छ।

आज बिहान करिब ४:१५ बजे गणेश पोख्रेलको काठको दुईतले घरबाट आगलागी सुरु भएको थियो। आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक लोकबहादुर दियालीको नेतृत्वमा प्रहरी टोली तथा शनिश्चरे बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक सोबित श्रेष्ठको नेतृत्वमा सुरक्षाकर्मी घटनास्थल पुगेका थिए।

बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल, सुरक्षाकर्मी तथा स्थानीयवासीको संयुक्त प्रयासपछि बिहान ५:४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार आगलागी विद्युत् सर्ट का कारण भएको हुन सक्ने अनुमान गरिएको छ।

आगलागीबाट गणेश पोख्रेलको काठको दुईतले घर, तारा अर्यालको एकतले घर र सुन्दर राजवंशीको एकतले घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। यस्तै भरत पोख्रेलको घरमा आंशिक क्षति पुगेको छ भने शारदा राजवंशीको दुईतले पक्की घर र दीपेन्द्रकुमार वलीको घरको दोस्रो तलाको झ्यालमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको राहतको विषय बनेको छ। आगलागीबाट भएको आर्थिक क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।