बिर्तामोड, साउन १६ / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगलागीबाट प्रभावित आफ्ना तीन जना शेयर सदस्यलाई राहत सामग्री वितरण गरेको छ।
बिर्तामोड–५ स्थित डाँडागाउँमा बिहीबार बिहान भएको आगलागीबाट पीडित बनेका सदस्यहरू कृष्णकुमारी ढकाल, बिजुलीसरी राजवंशी र तारा राजवंशीलाई शनिबार घरमै पुगेर खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको हो।
संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार पीडित परिवारको दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले राहत उपलब्ध गराइएको हो। संस्थाले सञ्चालन गरेको इमर्जेन्सी रेस्पोन्स सेन्टर (ईआरसी) मार्फत विपद्का बेला सदस्यहरूलाई तत्काल सहयोग गर्ने व्यवस्था गरिएको उनले बताए।
बिर्तामोड अनुगमन अधिकृत घनश्याम रायका अनुसार ईआरसी अन्तर्गतको सन्तोषी सहारा महिला समूह नम्बर ३१६ मा आबद्ध ती सदस्यलाई घरमै पुगेर राहत सामग्री प्रदान गरिएको हो। उनका अनुसार आपत विपतको समयमा गरिब तथा विपन्न सदस्यहरू आधारभूत आवश्यकताबाट वञ्चित नहोस् भन्ने उद्देश्यले कार्यकारी प्रमुख गिरीको परिकल्पनामा ईआरसी स्थापना गरिएको हो।
बिर्तामोड शाखा प्रमुख सागर ओझाले राहत प्याकेजमा चामल, दाल, खाने तेल, ब्ल्याङ्केट, म्याट्रेस, त्रिपाल, झुल, भाँडाकुँडाको एक सेट, राइस कुकर तथा प्राथमिक उपचार सामग्री समावेश गरिएको जानकारी दिए।
सहारा नेपाल साकोस विपद् व्यवस्थापन उपसमिति संयोजक हेमराज खड्काले विपद्को समयमा सदस्यको साथमा उभिनु सहकारीको सामाजिक उत्तरदायित्व भएको बताए। उनले आगामी दिनमा पनि सदस्यहरूको सुख–दुःखमा सहकारीले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे।
राहत प्राप्त गरेपछि पीडित परिवारले कठिन परिस्थितिमा सहयोग गरेकोमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन्। राहत हस्तान्तरण कार्यक्रममा कर्मचारी दुर्गाप्रसाद विक गहतराजलगायत अन्य कर्मचारीको पनि उपस्थिति रहेको थियो।
प्रहरीका अनुसार सुकुम्बासी बस्तीमा रहेको उक्त स्थानमा विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक आशंका गरिएको छ। आगलागीबाट करिब ६० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।































































