तेह्रथुम, साउन २८ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७औँ स्थापना दिवसको अवसरमा फोनिज जिल्ला कार्यसमिति तेह्रथुमले पत्रकारिता र मातृभाषा पत्रकारितामा उल्लेखनीय योगदान पुर्याउने दुई अग्रज पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ।
कार्यक्रममा आठराई गाउँपालिका–७ थोक्लुङ, तेह्रथुम स्थायी घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएका सहयोगी दाता ताराबहादुर कन्दङवाको सहयोगमा स्थापना गरिएको ‘ताराबहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार–२०८३’ फोनिज तेह्रथुमका पूर्वअध्यक्ष तथा रेडियो मेन्छ्यायेमका स्टेशन म्यानेजर भगिश्वर तेयुङ लिम्बूलाई प्रदान गरिएको हो।
त्यसैगरी, याक्थुङ (लिम्बू) मातृभाषा पत्रकारितामा लामो समयदेखि सक्रिय योगदान पुर्याउँदै आउनुभएका राजकुमार तेयुङ तरेबालाई ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८३’ प्रदान गरी सम्मान गरिएको छ।
स्थापना दिवसका अवसरमा आयोजित पुरस्कार तथा सम्मान अर्पण समारोहमा प्रमुख अतिथि तथा अतिथिहरूले आदिवासी जनजातिको भाषा, संस्कृति, पहिचान र अधिकारको संरक्षण तथा प्रवर्द्धनमा पत्रकारिताले खेलेको भूमिकाको प्रशंसा गर्दै सम्मानित व्यक्तित्वहरूको योगदान उदाहरणीय रहेको बताए।
फोनिज तेह्रथुमकी अध्यक्ष वविता राईले कार्यक्रममा उपस्थित भई समारोहको गरिमा बढाइदिनुहुने प्रमुख अतिथि, अतिथिहरू तथा सम्पूर्ण सहभागीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले पुरस्कृत तथा सम्मानित दुवै अग्रज पत्रकारलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पत्रकारिता क्षेत्रमा अझ सशक्त र प्रभावकारी योगदानका लागि शुभकामना व्यक्त गर्नुभयो।
अध्यक्ष राईले स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने फोनिज तेह्रथुमका सम्पूर्ण पदाधिकारी, सदस्य, सहयोगी तथा शुभेच्छुकहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
फोनिजले स्थापना दिवसका अवसरमा प्रत्येक वर्ष पत्रकारिता तथा मातृभाषा पत्रकारितामा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ। यसले आदिवासी जनजाति पत्रकारिताको विकास, मातृभाषाको संरक्षण र पत्रकारहरूको मनोबल अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको विश्वास गरिएको छ।































































