पर्साको वीरगञ्जमा अतिक्रमण हटाउने नाममा व्यवसायीलाई कुनै पूर्वसूचना र समय नै नदिई डोजर चलाइएको भन्दै उमेश डालमिया ले सरकारको कदमलाई ‘दादागिरी शैली’को संज्ञा दिनुभएको छ। उहाँले यस्तो कार्यले निजी क्षेत्रलाई सडकमा उत्रिन बाध्य बनाउने चेतावनी दिनुभएको छ।
डिभिजन सडक कार्यालय हेटौँडाको नेतृत्वमा आज बिहान ४:३० बजेदेखि वीरगञ्जका विभिन्न क्षेत्रमा एकैसाथ अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको हो। गण्डक चोक, पावरहाउस, मुर्ली, घण्टाघर र मकालु होटल चोकमा १० वटा डोजर प्रयोग गरी सडक फराकिलो बनाउने कार्य अघि बढाइएको छ। लामो समयदेखि रोकिएको अभियान अदालतको आदेशपछि तीव्र बनाइएको जनाइएको छ।
अभियानलाई प्रभावकारी बनाउन वीरगञ्ज महानगरपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सहित २२०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। बिहानैदेखि कडा सुरक्षाबीच घरटहरा भत्काइँदा स्थानीयमा त्रासको अवस्था सिर्जना भएको छ।
यता निजी क्षेत्र भने सरकारप्रति आक्रोशित बनेको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ का केन्द्रीय सदस्य डालमियाका अनुसार व्यवसायीहरूले आफ्नो सामानसमेत सुरक्षित गर्न नपाएको अवस्था छ। उहाँले यसअघि बुटवल मा पनि यस्तै शैलीमा डोजर चलाइएको स्मरण गराउँदै सरकारले बारम्बार निजी क्षेत्रमाथि अन्याय गरिरहेको आरोप लगाउनुभयो।
सरकारको यो कदम विकासका लागि आवश्यक कि दमनकारी—भन्ने प्रश्न अहिले सर्वत्र उठ्न थालेको छ। वीरगञ्जको सडक विस्तार अभियानले अब देशव्यापी बहस सिर्जना गर्ने डालमियाको भनाइ छ।


























































