विनोद सापकोटा

झिलझिले, जेठ २५ ।

रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रा. डा. सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले सोमबार एक विज्ञप्ती जारी गर्दे पुरस्कार पाउने प्रतिभा सार्वजनिक गरेको हो ।

प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष यज्ञराज ओली (गोपाल) का अनुसार पाँच लाख रुपैयाँ राशिको उक्त पुरस्कार प्राविधिक तथा उच्च शिक्षाको विकासमा दीर्घ योगदान पु¥याएका शर्मा तथा देशमै नवप्रवर्तन र अनुसन्धानको संस्कार विकासमा भूमिका खेलेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्न लागिएको हो ।

त्यसैगरी, एक लाख एक हजार एक सय एघार रुपैयाँ राशिको ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ एग्रो मनाङ प्रालि र कृषि विज्ञ चुटराज गुरुङलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । उच्च घनत्वको स्याउ खेती, कृषि अनुसन्धान तथा फलफूल विकासमा पु¥याएको योगदानको कदरस्वरूप उहाँहरु छनोट भएको प्रतिष्ठानका केन्द्रिय छनोट भएका हुन् ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीका अनुसार घोषित पुरस्कारहरू आगामी जेठ ३० गते काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश तथा पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा प्रदान गरिनेछ ।

झापाको भद्रपुरमा स्थापित प्रतिष्ठानले शिक्षा, कृषि, पत्रकारिता, साहित्य, बालप्रतिभा तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्ति र संस्थालाई नियमित रूपमा सम्मान गर्दै आएको छ । हालसम्म प्रतिष्ठानबाट विभिन्न विधाका ४० भन्दा बढी व्यक्ति तथा संस्थाहरू पुरस्कृत भइसकेका छन् ।