झापा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै जिल्लाका विभिन्न स्थानमा व्यापक स्वीप अपरेसन सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असार ३० गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा ६८ जनालाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार लागूऔषध सेवन गरिरहेको आशंकामा ५१ पुरुष र ६ महिला गरी ५७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ। साथै खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ३ जनालाई पक्राउ गरिएको छ।
पक्राउ परेकामध्ये अर्जुनधारा नगरपालिका–१ का २८ वर्षीय कैलाश राईली र सोही स्थानका २३ वर्षीय अजय राजवंशीको साथबाट १४ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै बिर्तामोड नगरपालिका–७ का ३० वर्षीय विष्णु सिंह राजवंशीको साथबाट ५ ग्राम ४० मिलिग्राम लागूऔषध फेला परेको छ। यससँगै बरामद लागूऔषधको कुल परिमाण १९ ग्राम ४०० मिलिग्राम पुगेको छ।
प्रहरीले नियन्त्रणमा लिइएका लागूऔषध प्रयोगकर्तालाई मनोसामाजिक परामर्श सेवा प्रदान गर्नुका साथै आवश्यकता अनुसार अभिभावकको जिम्मा लगाउने र पुनर्स्थापना केन्द्रमा पठाउने कार्यसमेत भइरहेको जनाएको छ।
लागूऔषधविरुद्ध झापा प्रहरीको कडा अभियान जारी रहेको र अवैध कारोबार तथा सेवनमा संलग्न व्यक्तिमाथि निगरानी थप कडा बनाइने प्रहरीले जनाएको छ।






























































