झापा, असार ५ – झापाको कनकाई नगरपालिका–५ तुलसीवारीमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक र एक बालिकाको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।

दिउँसो करिब १२ बजे सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे.४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे.१त ७४०४ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय समिर अली, उनकी ५ वर्षीया छोरी हाजिरा खातुन तथा उनकी आमा ४५ वर्षीया नुरेश सादेवी घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि कनकाई अस्पताल, सुरुङ्गा लगिएको थियो।

अस्पताल पुगेलगत्तै चिकित्सकले समिर अली र हाजिरा खातुनलाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते नुरेश सादेवीलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल, ट्याक्टर तथा ट्याक्टर चालक कनकाई नगरपालिका–५ का ४६ वर्षीय चक्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

एकै परिवारका दुई सदस्यको ज्यान जाने गरी भएको यस दुर्घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ।