झापा, असार ६ — झापाको कन्काई नगरपालिका–८ स्थित बिरिङ खोलामा एक ५ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।
कन्काई–१ निवासी कुलबहादुर रसाइलीकी छोरी सोनिया रसाइली हराएको भन्दै उनकी आमा अमृता रसाइलीले शुक्रबार दिउँसो अस्थायी प्रहरी पोष्ट दुर्गापुरमा जानकारी गराएकी थिइन्। सूचना प्राप्त हुनासाथ प्रहरी सहनिरीक्षक दीर्घबहादुर कार्कीको कमाण्डमा प्रहरी टोली खोजतलासमा खटिएको थियो।
खोजी गर्ने क्रममा कन्काई–८ स्थित बिरिङ खोलाको पानीमा डुबेको अवस्थामा बालिका सोनिया मृत फेला परेकी प्रहरीले जनाएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको नेतृत्वमा एसओसीओ (SOCO) टोलीसमेत पुगेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।
बालिकाको असामयिक निधनले परिवार शोकमा डुबेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























































