तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकूमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छन्।
शुक्रबार बिहान घरायसी विवादका क्रममा मादक पदार्थ सेवन (मापसे) गरेका श्रीमानले आफ्नी श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। घटनामा आठराई गाउँपालिका–३ ह्वाकू निवासी २५ वर्षीया फुलमाया लिम्बू गम्भीर घाइते भएकी हुन्।
प्रहरीका अनुसार ३४ वर्षीय मिलन लिम्बू ले सामान्य विवादका क्रममा श्रीमतीको घाँटीको दायाँ र बायाँ भागमा खुकुरी प्रहार गरेका थिए। घाइते फुलमायालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ, जहाँ उनको उपचार भइरहेको बताइएको छ।
घटना लगत्तै फरार भएका मिलन लिम्बूलाई इलाका प्रहरी कार्यालय सक्रान्तिबजारबाट खटिएको प्रहरी टोलीले ह्वाकू क्षेत्रबाटै पक्राउ गरेको छ। पक्राउ परेका लिम्बूमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।





























































