झापा, असार ३०। भारतको पानीट्यांकी क्षेत्रबाट अनधिकृत रूपमा नेपाल प्रवेश गर्दै गरेका एक बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
आज दिउँसो १२ः४५ बजे झापाको मेचीनगर नगरपालिका–६ गैरीगाउँस्थित मेची खोलाको बाटो हुँदै नेपालतर्फ प्रवेश गरिरहेका बंगलादेशी नागरिक ३३ वर्षीय एमडी सैफुल इस्लाम लाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बंगलादेशको चाँदपुर जिल्लास्थित तुलाटोली कचुवा मनोहरपुर–३६३० निवासी सैफुल इस्लाम वैध राहदानी बोकेर हिँडिरहेका भए पनि निर्धारित अध्यागमन नाकाको प्रयोग नगरी गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न खोजेको अवस्थामा पक्राउ परेका हुन्।
उनीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी आवश्यक अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका बंगलादेशी नागरिकलाई थप कानुनी कारबाहीका लागि अध्यागमन विभाग, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।खुला सीमाको दुरुपयोग गर्दै हुने अवैध आवतजावत नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको प्रहरीले जनाएको छ।






























































