मोरङ – कोशी पर्यटन वर्ष २०८२ लाई लक्षित गर्दै प्रदेश सरकारले भारतीय सीमाबाट भित्रिने सवारीसाधनमा स्टिकर टाँस्न सुरु गरेको छ।

शुक्रबार विराटनगरको रानी जोगबनी नाकाबाट औपचारिक रुपमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय सवारीमा स्टिकर टाँस गरेर अभियानको सुरुवात गरेका हुन्।

सोही क्रममा मुख्यमन्त्री कार्कीले २०८२ लाई पर्यटन वर्ष घोषणा गरेसँगै विदेशी पर्यटकहरूलाई सहज र सरल रुपमा भित्र्याउन सकिने गरी स्टिकर अभियान गरिएको बताए। भारततर्फबाट आउने पर्यटकलाई प्रहरीबाट अनावश्यक दुःख हुने गरेको गुनासोसँगै अभियान प्रदेशभरका नाकामा लागु गरिएको मुख्यमन्त्री कार्कीले बताए।

मुख्यमन्त्री कार्कीले अतिथिहरुलाई सम्मान गरेर पर्यटन वर्ष सफल पार्न आग्रह गरेका थिए। स्टिकर टाँसेका सवारीसाधनलाई नाकामा चेकजाँच गरेपछि बीचमा प्रहरीले चेकजाँच गर्न नपाउने व्यवस्था गरिएको छ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील खालको सूचना आएमा मात्र त्यस्ता गाडीमा चेकजाँच गरिने बताए।

कार्यक्रममा कोशी प्रदेशका प्रहरी प्रमुख राजन अधिकारीले प्रदेशमा दैनिक करिब पाँच सय बढी नीजि तथा पर्यटकीय सवारी भित्रने गरेको जानकारी दिए। अधिकारीले सुरक्षा स्टिकर टाँस गरेका सवारीसाधनलाई अनाहकमा दुःख नदिन मातहतमा निर्देशन दिइसकिएको जानकारी दिए।

प्रदेश सरकारले पर्यटन वर्षका क्रममा करिब १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। जसमध्ये अधिकांश पर्यटक भारतबाट आउनेलाई हेरिएको छ। प्रदेश सरकारले पर्यटकीयस्थलसंगै, धार्मिक, खेलकुद, स्वास्थ्यलाई पनि पर्यटनसँग जोडेर अघि बढेको छ।