बिर्तामोड । पत्रकारसँग बीमा सम्बन्धी समसामियिक बिषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । बीमा प्राधिकरण प्रादेशिक कार्यालय बिराटनगरले बुधबार झापाली पत्रकारसँग बिर्तामोडमा अन्तरक्रिया गरेको हो ।
नेपालमा अझै पनि ५७ प्रतिशत नागरिक बीमाको दायरामा आइनसकेको पाइएको छ । नेपाल बीमा प्राधिकरण कोशीले बुधबार झापामा गरेको अन्तक्रियामा जोखिम हस्तान्तरणको उपयुक्त माध्यम बीमाको दायरामा ठुलो हिस्सा समेटिन नसकेको पाइएको हो । पछिल्लो समय बीमा त्याग्ने हरुको संख्या समेत बढेर गएको बताइएको छ । अधिल्लो बर्षको तुलनामा ६ लाख बढिले बीमाको नविकरण गरेका छैनन् ।
आम मानिसमा बीमा साक्षरता जगाउनुका साथै जनचेतना जगाउन पत्रकारसँग अन्तरक्रिया आयोजना गरिएको बीमा प्राधिकरण प्रादेशिक कार्यालय बिराटनगरका प्रमुख विनोदकुमार पोखरेलले जानकारी दिए ।
कार्यक्रममा प्रस्तुतीकरण दिँदै पोखरेलले मानिसको जीवनमा आइपर्ने आर्थिक जोखिमलाई हस्तान्तरण गर्ने वैज्ञानिक प्रक्रिया र करार बीमा भएकाले यसको महत्व रहेको प्रष्ट्याए । यो जोखिम हस्तान्तरणको अन्तर्राष्ट्रिय प्रयोग भएकोसमेत उनले बताए ।
कार्यालय प्रमुख पोखरेलले बीमा प्राधिकरणको स्थापना, अवस्था, काम, कर्तव्य र अधिकारका साथै बीमाको किसिमका बारेमा जानकारी गराएका थिए ।
उनले नेपालका ४३.२७ प्रतिशत मानिसमात्र बीमाको पहुँचमा रहेको बताए । बीमा क्षेत्रमा ११९५१ जनाले रोजगारी पाएको, ३२९७५२ जना अभिकर्ता क्रियाशिल रहेको पोखरेलले जानकारी दिए । ‘एक घर एक बीमा’ अभियानअनुसार कार्य गरिरहेको उनको भनाई छ ।
कार्यक्रममा पत्रकारहरु इन्द्रसिंह राजवंशी, गोपाल काफ्ले, पुष्प बराल, प्रेम आचार्य, रमेश समदर्शीलगायतले जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासालाई कार्यालय प्रमुख पोखरेल, जीवन बीमा कम्पनीको तर्फबाट तुलसी पौडेल र निर्जीवन बीमा कम्पनीको तर्फबाट ठाकुर (सन्तोष) उप्रेतीले सम्बोधन गरेका थिए ।
बीमा प्राधिकरणले विद्यार्थीहरुका लागि ‘गरिबी निवारणमा बीमाको महत्व’ शिर्षकमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएकाले सहभागिताका लागि आग्रह गरेको छ । बिजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने कार्यालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथी पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले झापाली पत्रकारले लामो समयसम्म पनि झापाली पत्रकारहरुले कोरोना बीमाको दाबी भुक्तानी नपाएको भन्दै सहजीकरणका लागि बीमा प्राधिकरणलाई आग्रह गरे । उनले बीमा सचेतनाका लागि झापाली पत्रकारहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम कार्यालयकी सहायक निर्देशक पुष्पा खनालले सञ्चालन गरेकीथिइन् । कार्यक्रममा सञ्चारकर्मीहरुका साथै विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुख र प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।