बिर्तामोड ।  पर्यटन पत्रकार मञ्च झापाको आयोजना र राइनोज एजुकेसन सर्भिसको सहकार्य तथा प्राविधिक सहयोगमा  एकदिने आइटी तथा एआईसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आज आइतबार बिर्तामोडस्थित मुक्तिचोकमा रहेको राइनोज एजुकेसन सर्भिसको सभा हलमा आयोजित कार्यक्रममा झापाका सञ्चारकर्मीहरूलाई आधुनिक सूचना प्रविधि, डिजिटल सुरक्षा तथा कृत्रिम बुद्धिमत्ता ९एआई० को प्रयोगबारे व्यवहारिक जानकारी प्रदान गरिएको हो।

कार्यक्रमको मुख्य उद्देश्य सञ्चार क्षेत्रमा तीव्र रूपमा भइरहेको डिजिटल रूपान्तरणसँगै देखिएका चुनौतीहरूको सामना गर्न पत्रकारहरूलाई सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ। पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारहरू लक्षित साइबर आक्रमण तथा ह्याकिङका घटनाहरू बढ्दै गइरहेको सन्दर्भमा आइटी सुरक्षा सम्बन्धी ज्ञान अत्यावश्यक बनेको विषयमा कार्यक्रममा विशेष जोड दिइएको थियो।

मञ्चका अध्यक्ष बिनोद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिनियर सफ्टवेयर डेभलपर सन्दिप घिमिरे, एआई विज्ञ सागर पौडेल, प्रकाश पाण्डे तथा डिजिटल मार्केटिङ अफिसर सञ्जय पौड्यालले सहजीकरण गरेका थिए। उनीहरूले पत्रकारितामा एआईको प्रयोग, तथ्य जाँच ९फ्याक्ट–चेकिङ०, डेटा सुरक्षा, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा डिजिटल पहिचान जोगाउने उपायहरूबारे विस्तृत जानकारी दिएका थिए।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई एआई प्रविधिले समाचार लेखन, सामग्री विश्लेषण तथा सूचना व्यवस्थापनलाई कसरी सहज बनाउँछ भन्ने विषयमा समेत प्रशिक्षण दिइएको थियो। प्रशिक्षकहरूले एआईको सही प्रयोगले पत्रकारितालाई अझ प्रभावकारी, छिटो र विश्वसनीय बनाउन सक्ने बताएका थिए। साथै, एआईको दुरुपयोगले गलत सूचना फैलिन सक्ने भएकाले त्यसप्रति सचेत रहनुपर्नेमा पनि जोड दिइएको थियो।

कार्यक्रममा अग्रज सञ्चारकर्मीहरू दिपिन राई, गणेशमान मुखिया, दीपक चन्द लगायत युवा पत्रकार गरी ३५ जनाको सहभागिता रहेको मञ्चका उपाध्यक्ष तथा कार्यक्रम सञ्चालक पुष्प बरालले जानकारी दिए। उनका अनुसार यस्तो प्रशिक्षणले स्थानीय पत्रकारहरूलाई नयाँ प्रविधिसँग अद्यावधिक गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य राजकुमार ओली, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष विनिता शर्मा, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार तथा नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको पनि सहभागिता रहेको थियो। उनीहरूले वर्तमान डिजिटल युगमा पत्रकारिताले अपनाउनुपर्ने नयाँ रणनीतिबारे सूचना सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।

उनीहरूको भनाइमा अबको पत्रकारिता केवल समाचार संकलनमा सीमित नभई प्रविधिसँग समायोजन गर्दै सुरक्षित र जिम्मेवार सूचना प्रवाहमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको छ।

मञ्चका सहसचिव तिलक योञ्जनका अनुसार उक्त कार्यक्रमले झापाली सञ्चारकर्मीहरूलाई डिजिटल जोखिमबारे सचेत गराउँदै भविष्यको सञ्चार रणनीति निर्माणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ। आधुनिक प्रविधिको प्रभावकारी प्रयोगसँगै साइबर सुरक्षामा ध्यान दिन सके पत्रकारिता क्षेत्र अझ सशक्त र विश्वसनीय बन्ने विश्वास व्यक्त गरिएको छ।