आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापामा शान्तिपूर्ण र उत्साहजनक रूपमा उम्मेद्वारी दर्ता भएको छ । प्रमुख राजनीतिक दलहरू र स्वतन्त्र उम्मेद्वारहरूले उम्मेद्वारी मनोनयन गरेका छन् ।

बिगतका निर्वाचनहरूमा तालमेल र गठबन्धन गरेर उम्मेद्वारहरूले उम्मेद्वारी मनोनयन गर्ने गरेकोमा यो पटक सबै राजनीतिक दलहरूले उम्मेद्वारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार हिजो साँझसम्ममा उम्मेदवारी मनोनयनको काम सकिएको छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा राजनीतिक दलका शीर्ष नेता, पूर्व प्रधानमन्त्री, निर्वतमान सभामुख, उपसभामुख देखि लिएर नयाँ अनुहारसम्मले उम्मेद्वारी मनोनयन गरेपछि यहाँ सबैको चासो गएको छ । 

झापा क्षेत्र नं. ५ देशभर नै चर्चामा रहेको छ । एमाले अध्यक्ष ओली र रास्वपाका वरिष्ठ नेता शाह सहितले यहाँ उम्मेद्वारी मनोनयन गर्नु भएको छ । नेकपाबाट विद्यार्थी नेता रञ्जित तामाङले उम्मेद्वारी मनोनयन गर्नु भएको छ । नेपाली कांग्रेसबाट मन्धरा पौड्याल र राप्रपाबाट लक्ष्मी सङ्ग्रौलाले उम्मेद्वारी मनोनयन गर्नु भएको  निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । श्रम संस्कृति पार्टीको तर्फबाट शिवम सेरानी मगरले उम्मेद्वारी मनोनयन गरेको बताइएको छ ।

यस्तै, झापाको निर्वाचन क्षेत्र नं. २ मा पनि चर्चित अनुहारहरूले नै उम्मेद्वारी मनोनयन गर्नु भएको छ । नेकपा एमालेको तर्फबाट निवर्तमान सभामुख देवराज घिमिरे, रास्वपाबाट निवर्तमान उपसभामुख इन्दिरा राणा मगर, नेपाली कांग्रेसबाट पूर्वमन्त्री सरिता प्रसार्इं, नेकपाबाट पूर्वमन्त्री धर्मशिला चापागाई र राप्रपाबाट स्वागत नेपाल लगायतको उम्मेद्वारी मनोनयन भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नंं २ ले जनाएको छ । यसैगरी श्रम संस्कृति पार्टीको तर्फबाट केशव भण्डारीले उम्मेद्वारी मनोनयन गर्नु भएको छ ।

यसैगरी, झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन सहितका उम्मेद्वारहरूले उम्मेद्वारी मनोनयन गर्नु भएको छ । लगातर ३ वटा निर्वाचनमा उम्मेद्वारी नदिएको नेकपा एमालेले यो क्षेत्रमा यो पटक हरि राजवंशीले एमालेको तर्फबाट उम्मेद्वारी दर्ता गराउनु भएको छ । 

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएर यसभन्दा अघि लिङ्देन प्रतिनिधि सभा सदस्यमा निर्वाचित बन्नु भएको थियो । यो क्षेत्रमा एमालेसँग तालमेल रहेको थियो ।  यसैगरी नेपाली कांग्रेसबाट राजेन्द्र घिमिरेले उम्मेद्वारी मनोनयन गराउनु भएको छ । रास्वपा झापाका सभापति प्रकाश पाठकले यो क्षेत्रबाट उम्मेद्वारी मनोनयन गर्नु भएको छ । नेकपाबाट झापा ३ मा डिल्ली घिमिरे र श्रम संस्कृति पार्टीको तर्फबाट झापा ३ मा दीपक तिम्सिनाले उम्मेद्वारी मनोनयन गर्नु भएको छ ।

यस्तै, झापाको क्षेत्र नं. ४ मा निवर्तमान प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवाले नेकपा एमालेको तर्फबाट उम्मेद्वारी दर्ता गर्नु भएको छ । यसैगरी नेपाली कांग्रेसको तर्फबाट झापा सभापति देउमान थेवेले उम्मेद्वारी दिनु भएको छ। कोशी प्रदेश सरकारका पूर्वमन्त्री भक्तिप्रसाद सिटौलाले राप्रपाको तर्फबाट उम्मेद्वारी दिनु भएको छ । नेकपाको तर्फबाट पुरुषोत्तम चुडालले उम्मेद्वारी मनोनयन गर्नु भएको छ । रास्वपाको तर्फबाट शम्भु सुस्केरा र  श्रम संस्कृति पार्टीको तर्फबाट अमृता राईले उम्मेद्वारी दिनु भएको छ । 

यसैगरी, झापाको क्षेत्र नं. १ मा रास्वपाका निवर्तमान प्रतिनिधि सभा सदस्य एवं रास्वपा नेतृ निशा डाँगीले उम्मेद्वारी दर्ता गराउनुभएको छ । नेकपा एमालेको तर्फबाट सहकारी अभियान्ता रामचन्द्र उप्रेतीले उम्मेद्वारी मनोनयन गर्नु भएको छ । नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले यसभन्दा अघि जित्नु भएको यो निर्वाचन क्षेत्रमा जिल्ला उपसभापति केशवराज पाण्डे, नेकपाबाट अशेष घिमिरे र श्रम संस्कृती पार्टीबाट केवलराम राईले उम्मेद्वारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालय झापाले जानकारी दिएको छ ।