बिर्तामोड । झापाको बिर्तामोडमा कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी शुरू भएको छ । बिर्तामोड ५ स्थित देवी माविमा शुरू भएको प्रदर्शनीको शनिबार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएकी छन्।
नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीनदिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको शनिवार उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्। उनले वैज्ञानिक सोच, अनुसन्धानमूलक दृष्टिकोण र नवप्रवर्तनशील क्षमता विकास गराएर विश्वस्तरमा प्रतिस्पर्धी बनाउनुपर्ने बताइन्।
विज्ञान प्रयोगशालामा सीमित रहने विषय नभई मानिसको सोच, चिन्तनलाई सही निष्कर्षमा पुर्याउने प्रभावकारी प्रक्रिया भएको बताइन्। विज्ञान, प्रविधि र गणितका विज्ञ र विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले नेपालमा मुलुकको समृद्धिका लागि चाहिने उपयोगी प्राकृतिक स्रोत, साधन र सम्पदा प्रचुर उपलब्ध रहेको बताउँदै तिनको दिगो र अधिकतम प्रयोग गर्दै स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धिमा साथै व्यापक रोजगारीको सिर्जना गरी स्वाधीन, आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको निर्माण गर्नुपर्ने बताइन्।प्रदर्शनीको पूर्व राराष्ट्रपति भण्डारीले मोबाइल एप्सबाट दीप प्रज्वलन गरी उद्घाटन गरेकी हुन् ।
नेकपा एमाले विज्ञान तथा प्रविधि बिभाग कोशी प्रदेश कमिटीको आयोजनामा भएको प्रदर्शनी तीन दिनसम्म संचालन हुने आयोजक कमिटीका संयोजक गणेश पोख्रेलले जानकारी दिए ।
प्रदर्शनीमा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाका सदस्य लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।नेकपा एमाले विज्ञान तथा प्रविधि बिभाग कोशी प्रदेश कमिटीको आयोजनामा तीन दिने प्रदर्शनी संचालन भएको हो । बिज्ञान तथा प्रविधि बिभाग कोशी प्रदेश कमिटी अध्यक्ष गणेश पोखरेलको अध्यक्षता तथा पूर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यतामा भइरहेको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश कमिटी इन्चार्ज शेरधन राई, प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बू, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको जनाइएको छ ।