बिर्तामोड ।   बढ्दो सहरीकरणसँगै फोहोर व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखापर्ने गरेको छ । फोहोर फाल्ने स्थानको अभाव, सहरमा उत्पादित फोहोरका कारण वातावरणमा पर्ने प्रभाव तथा डम्पिङ साइट आसपासका स्थानीयले विरोध गर्ने गरेका कारण हरेक सहरले यो समस्याको सामना गर्दै आएका छन् ।

वातावरणीय दृष्टिकोणले वन जङ्गल, जल सतह, मानव बस्ती आसपासमा फोहोर फाल्न पाइँदैन । यही प्रतिबन्धका कारण सहरको फोहोर व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीका रूपमा रहने गरेको छ । अहिले देशका ठूला सहर काठमाडौँदेखि झापाको बिर्तामोडसम्मका जनप्रतिनिधिलाई फोहोर व्यवस्थापन गर्न सकस पर्दै आएको छ ।

बिर्तामोड नगरपालिकाले जनस्तरमा फोहोर वर्गीकरण शिक्षा प्रदान गरिसकेको जनाएको छ । झापामा सबैभन्दा बढी फोहोर उत्पादन हुने यस नगरपालिकामा फोहोर व्यवस्थापन मुख्य चुनौतीका रूपमा रहेको छ । वर्षाैंदेखि यहाँ फोहोरको समस्या समाधान हुन सकेको छैन ।

सहरमा फोहोर वर्गीकरण गर्न मुख्य चुनौती रहेको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डे बताउँछन् । सहरमा उत्पादित फोहोर एकैठाउँमा राख्ने गरिएको कारण प्लाण्टमा फोहोर लैजान समस्या भएको उनले बताए । फोहोरमैलाको दिगो व्यवस्थापनका लागि निर्माण गरिएको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा पूर्ण क्षमतामा चलाउन नसक्दा ‘करोडौं लगानी बालुवामा पानी’ हुने अवस्था छ ।

२०७५ सालदेखि निर्माण सुरु भएको ऊर्जा प्लान्ट सञ्चालनको सम्पूर्ण तयारी पूरा गरिएको बताइएको छ । ‘प्लान्टको संरचना निर्माणको काम सकिएको छ’ सञ्चालकमध्येका दीपक चापागाईंले भने, ‘फोहोर सङ्कलन गरेर प्लाण्टबाट बायोग्यास, ठोस मल र झोल मल उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।’ प्लाण्ट निर्माण सम्पन्न भएको १ वर्ष बितिसक्दासमेत प्लाण्ट सञ्चालन गर्न चाहिने कुहिने फोहोर सङ्कलन नहुँदा करोडौंको लगानी थन्किएको छ ।

प्लाण्टबाट मलबाहेक निर्माण सामग्री (पेवर्स) बनाइने ‘कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन’ कम्पनीका प्राविधिक जीवन श्रेष्ठले बताएका थिए । तर, पेवर्स बनाउने उपकरण खरिदका लागि तीन स्थानीय तहबीच हालसम्म समन्वय नै हुन सकेको छैन । कनकाईमा ४ हजार टन क्षमताको प्लाण्टबाट हरेक दिन १ हजार केजी ग्यास, ४ हजार केजी ठोस मल र ३० हजार लिटर झोल मल उत्पादन गरिने क्षमताको प्लाण्ट निर्माण भएको छ । प्रज्वलन क्षमता, तापीय शक्ति राम्रो भएको बायोग्यास सो प्लान्टबाट उत्पादन गरिने श्रेष्ठको भनाइ छ ।

६० प्रतिशत सरकारी लगानी भएको कनकाई नवीकरणीय ऊर्जामा तीनै पालिकाले २ करोड ५४ लाखका दरले लगानी गरेका छन् । कुल २२ करोड लगानी भएको उक्त परियोजना सञ्चालनमा आएपछि फोहोरमैलाको दिगो व्यवस्थापन हुने बताइएको थियो । पहिलो चरणमा जिल्लाका तीन पालिकाले लगानी गरे पनि थप तीन पालिकाहरू लगानीका लागि इच्छुक भएका थिए । तर, सामान्य परीक्षणबाहेक ऊर्जा प्लाण्टबाट लक्ष्य अनुसारको काम हुन सकेको छैन ।

शिवसताक्षी, मेचीनगर र भद्रपुरसमेतले आफ्नो नगरको फोहोरमैला व्यवस्थापनका लागि कनकाई ऊर्जासँग सहकार्य गर्ने मनसाय बनाएका थिए । कनकाई ऊर्जा सञ्चालनपछि उत्पादित ग्यास ठूला होटल र उद्योगहरूमा निर्यात गर्ने योजना सञ्चालकको थियो ।

परियोजनाका प्राविधिक श्रेष्ठले फोहोरको स्रोतमै वर्गीकरण हुन आवश्यक भएको बताएका छन् । स्रोतमा वर्गीकरण गरिएको फोहोर सङ्कलन गरेर प्लाण्टमा प्रयोग गरिनेछ । आम नागरिकले कुहिने, नकुहिने र धातुजन्य फोहोर अलग्गै छुट्याएर दिनुपर्ने श्रेष्ठले बताए । तर, तीनवटै नगरपालिकाले फोहोरलाई वर्गीकरण गरेर छुट्याउने काम नै गर्न सकेका छैनन् । प्लाण्टलाई आवश्यक पर्ने कुहिने फोहोर जम्मा नभएपछि स्थानीय कृषकको गोठबाट गोबर सङ्कलन गरी परीक्षण उत्पादनसम्म गरिएको श्रेष्ठले जानकारी दिए । 

बिर्तामोड नगरपालिकाकै सक्रियता र तीनवटा नगरपालिकाको सहभागितामा कनकाईमा फोहोर व्यवस्थापनका लागि प्लाण्ट निर्माण भएको हो । प्लाण्ट निर्माण सम्पन्न भए पनि बिर्तामोडले फोहोर वर्गीकरण गर्ने प्रभावकारी उपाय अपनाउन नसक्दा सहरबाट उत्पादित फोहोर विसर्जन गर्न चुनौती रहेको छ  । बिर्तामोड नगरपालिकाले कुहिने फोहोर ढुवानीका लागि गाडी पनि खरिद गरिसकेको छ । तर, नागरिकले फोहोर वर्गीकरण नगर्दा फोहोर सङ्कलन गर्ने काम चुनौतीपूर्ण बनेको छ ।

त्यसैगरी कनकाई नगरपालिकाले फोहोर वर्गीकरणका लागि नगरवासीलाई तालिम दिइसकेको छ । कनकाई नगरपालिकामा उत्पादित फोहोर प्लाण्टमा लान थालिएको छ ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलका अनुसार कुहिने फोहोरबाट बायोग्यास, ठोस मल र झोल मल उत्पादन हुन थालेको छ । उत्पादित बायोग्यास बिक्री गर्नका लागि प्रक्रिया सुरु गरिएको उनले बताए । प्लाण्टमा झापाका सबै स्थानीय तहको फोहोर खपत हुने दाबी प्रमुख पोखरेलको छ ।

असारदेखि ग्यास उत्पादन हुन थाले पनि हालसम्म बिक्री भने भएको छैन । ग्यास बिक्री नभएपछि उत्पादित ग्यास हावामा नष्ट गर्दै आएको कनकाई नगरपालिकाका सूचना अधिकारी खगेन्द्र मिश्रले जानकारी दिए । उनले ग्यास बिक्रीका लागि पर्याप्त सिलिण्डर खरिद गरिएको भए पनि हालसम्म उत्पादित ग्यास खेर गइरहेको बताए ।

त्यस्तै अर्जुनधारा नगरपालिकाले प्लाण्टमा फोहोर व्यवस्थापनका लागि लैजाने विषयमा कुनै प्रक्रिया सुरु गरेको छैन । प्लाण्ट बनिसकेपछि फोहोर वर्गीकरणका लागि स्थानीयलाई तालिम प्रदान गर्नुपर्नेमा यसतर्फ हालसम्म नगरले कुनै चासो राखेको छैन । नगरपालिकाको फोहोर व्यवस्थापन शाखाका कर्मचारी माधव भण्डारीका अनुसार हालसम्म फोहोर वर्गीकरणको लागि वडाका नागरिकलाई तालिमसम्म दिइएको छैन । स्थानीय एकजना व्यवसायीको अर्जुनधारा–४ को बागेडाँगी भन्ने स्थानको जमिनमा फोहोर थुपार्दै आएको नगरपालिकाले अर्काे वर्ष पनि फोहोर फ्याल्न सम्झौता गर्ने तयारी गरेको भण्डारीले जानकारी दिए ।

‘अर्जुनधारा नगरपालिकामा फोहोर व्यवस्थापनको ठूलो समस्या छैन, अरू स्थानीय तहसँग मिलेर अन्यत्र ठूलो लगानी गर्नु उपयुक्त हुन्छजस्तो लाग्दैन’ भण्डारीले भने, ‘हाम्रो नगरपालिकामा प्रशस्त जमिन छ, जहाँ पनि डम्पिङ साइट बनाउन सकिन्छ ।’

भण्डारीका अनुसार अर्जुनधारामा २० प्रतिशत मात्र कुहिने फोहोर उत्पादन हुँदै आएको छ । कनकाईमा निर्मित प्लाण्टमा कुहिने फोहोर व्यवस्थापन गर्न थाल्दा नकुहिने फोहोरको समस्या झनै विकराल हुन सक्छ । प्लाष्टिकजन्य फोहोरबाट ब्रिकेट बनाउने प्लाण्ट व्यवस्थापनको योजना रहेपनि यसतर्फ काम सुरु भएको छैन । 

तीव्र सहरीकरण हुँदै गएको बिर्तामोड नगरपालिकामा फोहोर विसर्जन गर्ने स्थान अभाव हुँदा हप्तौंसम्म फोहोर नउठ्ने गरेको छ । जसका कारण सहर दुर्गन्धित बन्दै गएको छ । नगरले सक्रियतापूर्वक फोहोर वर्गीकरण गराउने हो भने केही हदसम्म नगरमा फोहोरको समस्या समाधान हुने देखिन्छ ।