बिर्तामोड । ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि बिर्तामोड नगर अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको छ । हस्तान्तरणको समय एक महिना रहँदा अस्पतालको तीन तले भवनको ३५ प्रतिशत मात्र निर्माण हुन सकेको छ । 


Screenshot_20250210-131134_Messenger२५ बेडको नगर अस्पताल भवन निर्माण गर्न ठेक्का लागेको भवन अलपत्र बनाएर ठेकेदार सम्पर्कबिहिन भएको बताइएको छ ।  

दुई महिनादेखी ठेकेदार सम्पर्क बाहिर रहेको बिर्तामोड नगरपालिका स्रोतलेृ जनाएको छ । संघीय सरकारको १५ करोड ३४ हजार ३३६ रुपैयाँको लागतमा बन्ने अस्पताल भवनको काम अहिले अलपत्र बनेको छ । २०८० साल वैशाख ८ गते भवन निर्माणका लागि सम्झौता भएको थियो । सो भवन यसै वर्षको फागुन २६ गते निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर भवन सम्पन्न गर्ने समय सकिन एक महिना मात्र बाँकी रहँदा ठेकेदार नै सम्पर्कमा आएका छैनन् ।  

अस्पतालको सो भवन निर्माणका लागि काठमाडौँको विभास कन्स्ट्रक्सन इन्टरनेसनल कन्सल्टेन्ट एन्ड सप्लायर्स प्रालीले ठेक्का प्राप्त गरेको थियो । प्रालीका ठेकेदार रमेश राई दुई महिनाबाट बिना जानकारी सम्पर्कविहीन हुँदा भवन अलपत्र परेको हो । ठेकेदारलाई सम्पर्कमा नआएपछि बिर्तामोडका विभिन्न व्यवसायीको समेत लाखौं रकम डुबेको छ । उनले रड सिमेन्ट ईटा ग्रिल मोटर लगायतको रकम भुक्तानी नगर्दा ४० लाख भन्दा बढी रकम डुबेको स्थानीय व्यवसायिको भनाइ छ । 

ठेकेदारले राखेका कर्मचारी बिष्णु बञ्जाराले भने–‘राईले भवन निर्माणका खटेका मजदुरको समेत पारिश्रमिक भुक्तानी गरेका छैनन् । रकम भुक्तानी नपाएपछि मजदुरले समेत काम छाडिसकेका छन् । 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको क्षेत्रसमेत रहेकाले उनकै पहलमा अस्पताल भवन निर्माणका लागि बजेट प्राप्त भएको थियो । अस्पतालमा सेवा सुविधा वृद्धि गर्ने लक्ष्यका साथ भवन निर्माण गरिन लागे पनि समयमै काम सम्पन्न नहुँदा स्थानीय निराश बनेका छन् । 

समयमै भवन निर्माण सम्पन्न नहुँदा जनतालाई गुणस्तरीय सेवा दिन नसकिएको अस्पताल सञ्चालक समितिका सदस्य समेत रहेका वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथोकीले गुनासो गरेका छन् ।  बुढाथोकीले अस्पताल निर्माणमा चासो राखेर पटकपटक ठेकेदारलाई सम्पर्क गर्दासमेत हाल उनको मोबाइल अफ भएको जानकारी दिएका छन् । 

नगर अस्पतालले इमर्जेन्सी सेवा, बर्थिङ सेवा र डायलोसिस समेतको सेवालाई ध्यानमा राखी विभिन्न उपकरणको समेत जोहो गरिसकेको छ । तर समयमै भवन निर्माण सम्पन्न नहुँदा प्राप्त भएका उपकरण प्रयोग गरेर गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको अध्यक्ष बुढाथोकीको भनाई छ ।

ठेकेदार राईले अन्य धेरै ठाउँको पनि रकम भुक्तानी गर्न बाँकी रहेको पाइएको छ । उनको कम्पनीले धेरैवटा निर्माणको काम अलपत्र पारेकाले कतिपय ठाउँमा उनी ब्ल्याकलिस्टमा समेत परेको बताइएको छ । रकम भुक्तानी गर्न नसकेकै कारण उनी सम्पर्कबाहिर रहेको हुनसक्ने स्थानीयले आरोप लगाएका छन् । 

बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार गुणस्तरीय सेवा प्रदान गर्नका लागि नगरपालिकाले संघीय सरकारसँग अनुरोध गरी पाएको बजेट पनि ठेकेदारकै कारण अलपत्र पर्दा जनतामा निराशा पैदा भएको गुनासो गरेका छन् । प्रवक्ता पाण्डेका अनुसार समयमै भवन निर्माण सम्पन्न गरि यसै आर्थिक वर्षदेखि नै सेवा सुरु गर्ने नगरपालिकाले लक्ष्य राखेको थियो ।