काठमाडौँ। मङ्गलबारबाट देशभर पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस एचपिभीविरुद्धको खोप अभियान सुरु भएको छ।
खोप अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकालाई खोप दिइएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबारबाट सुरु भएको खोप अभियान फागुन ५ गतेसम्म देशभर सञ्चालन हुनेछ। देशभरका १९ हजार विद्यालय र आठ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन हुँदैछ।
यो नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन गर्न लागेको सबैभन्दा ठुलो अभियान हो। देशभरका करिब १७ लाख किशोरीलाई खोप दिने लक्ष्य सरकारको छ।