बिर्तामोड । झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एल एक्स सिटी एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे । खेलको २५औं मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेण्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए । मैदानको मध्यभाग सिंगल खेल्दै बललाई पोष्टको दिशा दिए ।
आर्मीका लागि अर्काे गोल खेलको ८२औं मिनेटमा सम्भव भयो । बैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा निरज चौधरीले गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका हुन् । मोरङका डिफेण्डरको कमजोरीको फाइदा उठाउँदै चोधरीले गरेको प्रहार गोलरक्षक अरुन ब्लोनले बचाउन सकेनन् ।
खेलमा मोरङले खासै मुभ बनाउन सकेन । खेलको ४७औं मिनेटमा अनमार्क रहेका दिपेश आलेमगरले विपक्षी पोष्टमा पाएको बल सदुपयोग गर्न नसक्दा बराबरी गर्ने अवसर गुमेको थियो ।
खेलको प्लेयर अफ द म्याच आर्मीका दिशान्त राई घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए । भोलि आइतबारको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुष ८ गते हुने छ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए । प्रतियोगितामा नेपालका ९ र भारतको एउटा क्लबको सहभागिता रहेको छ ।






























































