बिर्तामोड ।दक्षिण एसियाकै उत्कृष्ट आँखा अस्पतालमा दरिएको मेची आँखा अस्पतालले कानको उपचार सेवासमेत सुरु गरेको छ। नेपालमा मात्र नभएर भारतीय बिरामीहरूको पनि उपचार गर्दै आएको आँखा अस्पतालले कानको उपचार सेवा समेत सुरु गरेको हो। मेची आँखा अस्पतालले वार्षिक करिब १ लाख बिरामीको उपचार गर्दै आएको छ। मेची आँखा अस्पताल दक्षिण एसियाकै उत्कृष्ट अस्पतालमा दरिएको छ। कानको उपचारमा समेत  उत्कृष्ट सेवा दिने लक्ष्य लिएको सञ्चालक समितिले जनाएको छ। कान र आँखाको उपचार समान पद्धतिले गरिने भएका कारणले पनि आँखा र कानको उपचार एकै ठाउँमा गर्न लागिएको हो। आँखाको उपचार गर्न आउने धेरै बिरामीमा कानको पनि समस्या देखिने गरेका कारण एकै ठाउँमा उपचार गर्न लागिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष जलकुमार गुरुङले बताएका छन् ।

उपचार सेवाको बिर्तामोड नगरपालिकाका मेयर पवित्रादेवी महतारा प्रसाईंले शुभारम्भ गरिन् । आँखा अस्पतालभित्रै कानको उपचार  गर्ने प्रबन्ध मिलाइएको अस्पताल सञ्चालक समितिका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । उनले सर्बसाधारणले सुलभ शुल्कमा उपचार सेवा लिउन् भन्ने उदेश्यले कानको उपचार सेवा थप गरिएको जानकारी दिए । 

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा‍. पुरुषोत्तम जोशीले प्रत्येक १ हजार जनामा ८२ जनाको आँखामा समस्या आउने गरेको बताए । त्यसैगरी १ हजार जनामा ५२ जनामा कानको समस्या रहने गरेको बताए । आँखा र कानको उपचार सम्बन्धित बिराम भएको हुनाले कानको उपचार सेवा थप गरिएको उनको भनाई थियो । 

यसअघि कानको उपचारका लागि आउने बिरामीलाई अन्यत्र रेफर गर्ने गरिएको उनले जानकारी दिए । अब दक्ष जनशक्तिको संलग्नतामा उपचार सेवा सुरु गरेपछि यो सेवा अस्पतालमै उपलब्ध हुने बताइएको छ । निकट भविष्यमा कानको अपरेसनद्वारा उपचार गर्ने सेवा पनि सुरु गर्ने अस्पताल सञ्चालक समितिका सचिव गणेश पोखरेलले बताए । 

बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकीले आफनो वडामा रहेको अस्पतालले सुिवधा थप गर्नु वडाका लागि गौरवको कुरा भएको बताए । उनले अस्पतालले बिपन्न समुदायका बिरामीका लागि उपचारको पहुँच पुर्याएकोमा प्रशंसा समेत गरेका थिए ।