काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने भएको छ। असोज ६ गते आइतबार स्थानीय समयअनुसार साढे ५ बजे उनीहरूबीच भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।ओली-मोदी भेटवार्ताका लागि परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालय आन्तरिक तयारीमा जुटेका छन्। 'प्रधानमन्त्रीज्युको भारतीय समकक्षीसँगको भेटवार्ता सुनिश्चित भएको छ। केही तलमाथि नभए सेप्टेम्बर २२ (असोज ६) मा उहाँहरूबीच भेटवार्ता हुनेछ,'।
संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार कतार हुँदै अमेरिका प्रस्थान गरेका छन्। उनी शनिबार न्युयोर्क पुग्नेछन्। उता, समकक्षी मोदी शनिबार न्युयोर्क प्रस्थान गर्ने भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ। न्युयोर्क पुगेलगत्तै ओली-मोदीबीच भेटवार्ता हुनेछ।


























































