काठमाण्डौ – झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छ वटै वडाका विभिन्न ठाउँमा किसानले तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिनुभयो । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलो तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान छ । 

हल्दीबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ । अहिले तोरी फुलेर खेत पहेँलपुर भएका छन् । हल्दीबारी–२ का डम्बरप्रसाद चम्लागाईंले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने बताउनुभयो । अरु बालीमा जस्तो झन्झट नहुने र तोरीको मूल्य पनि राम्रो रहेको उहाँको भनाइ छ । किसानले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन तथा बिक्री वितरण गर्न आफूहरुले सहयोग गर्ने एकता बहुउद्देश्यीय सहकारीका अध्यक्ष हरिकृष्ण अधिकारीले बताउनुभयो ।