झापाको बिर्तामोड नगरपालिकाले आज २४ जना कृषकहरूलाई तरकारीमा तोकिएको न्यूनतम समर्थन मूल्यकाे रकम वितरण गरेको छ।

नगरपालिकाले गत आर्थिक वर्षमा विभिन्न १६ प्रकारका तरकारी बालीको न्यूनतम समर्थन मूल्य तोकी कृषकहरुलाई राहतको कार्यक्रम सञ्चालन गरेको थियो।
नगरपालिकामा आज विशेष कार्यक्रमको आयोजना गरी न्यूनतम समर्थन मूल्यवापतको १२ लाख८१,८७० रुपैयाँ वितरण गरेको छ। बिर्तामोडका नियमित तरकारी उत्पादन गरी संकलन केन्द्रमा बिक्री गर्ने किसानलाई सो रकम वितरण गरिएको हो। कार्यक्रममा कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले कृषि शाखाले सो कार्यक्रममा एक वर्षभरि गरेका गतिविधिका बारेमा जानकारी दिनुभएको थियो ।
कृषि शाखा प्रमुख कडरियाले अहिले सातवटा वितरण शाखा मार्फत तरकारी बिक्री भइरहेकोमा यसै वर्षदेखि अरु दुईवटा बिक्री कक्ष थप गरिने समेत जानकारी दिनुभएको छ। किसानले उत्पादन गरेका तरकारी अब कृषि एम्बुलेन्स मार्फत किसानका घर घरबाटै संकलन गरिने समेत उहाँले जानकारी दिनुभएको छ। यसै वर्ष कृषि एम्बुलेन्स खरिद गरी सञ्चालनमा आएको छ।
रकम वितरण कार्यक्रममा नगरकी मेयर पवित्रा महतरा परसाईले किसानहरूलाई चेक वितरण गर्नुभएको थियो। उहाँले नगरपालिकाले अझै कृषकहरु मैत्री कानुन निर्माण गरी आगामी दिनमा कृषि क्षेत्रमा बजेट विस्तार गरिने जानकारी दिँदै किसानहरुले पनि गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो। विषादी रहित उत्पादन नगरको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै उत्पादनमा ध्यान दिन अनुरोध गर्नुभएको छ।
यस वर्ष तरकारी सङ्कलन केन्द्रमा २लाख ४७ हजार केजी तरकारी जम्मा भई ७३ लाख २३ हजारको कारोबार भएको जानकारी दिएको थियो। रकम पाउने किसानहरुले न्यूनतम २०८ रुपैयाँदेखि देखि ५ लाख३४,५११ रुपैयाँसम्म प्राप्त गरेका थिए।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि लगायत नगरका कृषकहरूको उल्लेख्य सहभागिता रहेको थियो।






























































