ढल्केबर। मधेश प्रदेशलाई अन्नको भण्डारसँगै आँपको राजधानी समेत भन्ने गरिएको छ। देशमै सबैभन्दा बढी आँप उत्पादन हुने गरेकाले पनि यो प्रदेशलाई आँपको राजधानी भन्ने गरिएको हो। फलफूलको राजा भनेर चिनिदै आएको आँपको यहाँ व्यावसायिक तथा परम्परागत तरिकाले खेती गरिन्छ। विशेष गरी बमई, माल्दा, दसहरी, कृष्ण भोग, आम्रपालीलगायत ४० भन्दा बढी प्रजातिको आँप खेती गरिँदै आएको छ। यहाँका कतिपय किसानले घना बगैँचामा विविध जातका आँप रोपेर व्यावसायिक उत्पादन गरिरहेका छन् भने केहीले परम्परागत तरिकाले आँपको खेती गर्दै आएका छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका सचिव डा. उमेश दाहालले आँप खेतीका लागि यो प्रदेश उर्वरभूमि भएको बताउनुभयो। यहाँको हावापानी, माटो आँप उत्पादनका लागि सुहाउँदो छ। आँप उत्पादनमा यो प्रदेशको ७७ प्रतिशतभन्दा बढी योगदान रहेको उहाँको भनाइ छ। सचिव दाहाले देशका अन्य भागमा समेत आँप खेती हुने गरेको भए पनि व्यापारिक तथा परिमाणका हिसाबले मधेश प्रदेश सबैभन्दा अगाडि रहेको बताउनुभयो।
मन्त्रालयको तथ्याङ्क अनुसार देशभर ४२ हजार ७ सय ७३ हेक्टर क्षेत्रफलमा आँप खेती हुन्छ। जसबाट वार्षिक पाँच लाख १३ हजार ५५ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ । यसमध्ये मधेश प्रदेशमा मात्रै २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको छ। जहाँबाट वार्षिक तीन लाख ९५ हजार ७९४ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ।
प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्लामा व्यावसायिक रूपमै आँप खेती हुँदै आएको छ। आँप उत्पादनको दृष्टिले सिराहा सबैभन्दा अगाडि रहेको छ। सिराहमा वार्षिक एक लाख ४ हजार ६७६ मेट्रिक टन आँप फल्छ भने सप्तरीमा ९६ हजार, धनुषामा ३६ हजार ९१६, महोत्तरीमा ३२ हजार ७२२, सर्लाहीमा ३९ हजार ११८, रौतहटमा ६२ हजार ५६१, बारामा १९ हजार २६९ र पर्सामा ४ हजार ७३१ मेट्रिक टन आँप उत्पादन हुने गरेको मन्त्रालयको तथ्याङ्कमा छ । तथ्याङ्क अनुसार यस प्रदेशमा ७७ दशमलव एक प्रतिशत आँप उत्पादन हुने गरेको छ।