झापाको बिर्तामोड नगरपालिकाले महानन्द चोकदेखि देउनिया खोलासम्म सडक विस्तार अभियान सुरु गरेको छ । सडकको बीच भागबाट दुवैतर्फ १५–१५ मिटर क्षेत्र खाली गराउने उद्देश्यसहित पहिलो चरणको नापजाँच कार्य आजबाट सुरु गरिएको हो ।

नगरपालिकाका प्राविधिक टोली, जनप्रतिनिधि तथा सम्बन्धित निकायको उपस्थितिमा बिर्तामोड–५ स्थित महानन्द चोकबाट अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । सडक क्षेत्रभित्र परेका संरचनाको विवरण संकलन गर्दै सीमांकनको काम अघि बढाइएको छ ।

नगरपालिकाले दीर्घकालीन रूपमा व्यवस्थित सडक निर्माण, सवारी चाप व्यवस्थापन तथा भविष्यमा हुनसक्ने दुर्घटना न्यूनीकरणलाई ध्यानमा राख्दै सडक विस्तार अभियान अघि बढाइएको जनाएको छ ।

सडक क्षेत्रभित्र पर्ने घरटहरा तथा अन्य संरचना भएका स्थानीयलाई आवश्यक समन्वय र सहकार्य गर्न नगरपालिकाले आग्रह गरेको छ । अभियान क्रमशः देउनिया खोलासम्म विस्तार गरिने जनाइएको छ ।