झापामा गएराति आएको भीषण हावाहुरीले जिल्लाका विभिन्न पालिकामा व्यापक क्षति पुर्‍याएको छ। पानीसहित आएको हुरीका कारण घरका छाना उड्नुका साथै उद्योग, कुखुरा फार्म, भट्टा र सवारीसाधनमा समेत ठूलो क्षति पुगेको हो।

सबैभन्दा बढी असर गौरादह, हल्दीबारी, बिर्तामोड, मेचीनगर, दमक र बाह्रदशी क्षेत्रमा परेको प्रहरीले जनाएको छ। हावाहुरीले दर्जनौँ घरमा क्षति पुर्‍याउँदा सर्वसाधारण रातभर त्रासमा बसेका थिए।

गौरादह–७ डाँडागाउँमा पर्शुराम दाहालको कुखुरा फार्म पूर्ण रूपमा ध्वस्त भएको छ। हुरीले फार्म भत्काउँदा २५ वटा ब्रोइलर कुखुरा मरेका छन्। उक्त घटनाबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

हल्दीबारी गाउँपालिका–२ मा तीन घरका छाना उडाएको छ। फुस र टिनले बनेका घरका छाना उडाउँदा स्थानीय परिवार विस्थापित बनेका छन्। त्यस्तै गौरादह–६ मा श्यामलाल बैसरा र हुकुमसिंह राईका घरमा समेत व्यापक क्षति पुगेको छ।

बिर्तामोड क्षेत्रमा हावाहुरीले बिजुलीका पोल ढाल्दा विभिन्न सडक अवरुद्ध बने। बिर्तामोड–३, ६ र ८ मा गरी सातभन्दा बढी बिजुलीका पोल ढलेका छन्। कतिपय स्थानमा रुख ढलेर सडक अवरुद्ध भएको थियो भने स्थानीयले रुख हटाएर यातायात सञ्चालन गरेका छन्।

बाह्रदशी गाउँपालिका–५ मा पृथ्वीलाल राजवंशीको घरको टिनको छाना पूर्ण रूपमा उडाउँदा करिब डेढ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।

मेचीनगर–१५ स्थित जय माँ कामाक्ष इण्डष्ट्रिज प्रालिको गोदामको जस्तापाता उडाउँदा उद्योगमा करिब तीन लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। दमक–१० मा रहेको गरिमा इँटा भट्टाको भवनको छानो समेत हुरीले उखेलेर पल्टाइदिएको छ।

गौरादह–८ मा चट्याङ पर्दा इन्द्रमणि प्रसाईँका दुई घरमा विद्युत उपकरण जलेर नष्ट भएका छन्। टिभी, फ्रिज, सोलार, विद्युत मिटर, पंखा लगायतका सामग्री जलेर करिब एक लाख ३६ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

उता मेचीनगर–८ स्थित सूर्यदय कम्पनीको पार्किङ भवनको छाना उड्दा पार्किङमा राखिएका दुई वटा बसको अगाडिको सिसा फुटेको छ।

हावाहुरीबाट जिल्लाभर लाखौँ रुपैयाँ बराबरको क्षति भए पनि हालसम्म मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा स्थानीय तह, प्रहरी र सरोकारवाला निकायले क्षतिको विवरण संकलन तथा उद्धारको काम अघि बढाएका छन्।