र्तामोड ।
नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै क्षतिको निष्पक्ष मूल्यांकन गरी पीडितलाई क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ ।
आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले नेताका घरहरु छानी छानी आगजनी गर्ने, तोडफोड गर्नेहरुको पहिचान भइसकेकोले कारबाहीमा ढिलाई नगर्न सरकारसँग माग गरेको छ ।
पत्रकार सम्मेलन मार्फत जेनजी आन्दोलनमा भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति नष्ट हुनु अपराधको दायरा भित्र पर्ने भन्दै दोषीको पहिचान गरी कानूनी कारबाही गर्न आग्रह गरिएको हो ।
नगर पार्टी अध्यक्ष सुवास भट्टराईले भदौ २३ र २४ गते बिर्तामोड क्षेत्रमा भएको घटनामा पार्टी नेतासहित स्थानीय प्रतिनिधि, सरकारी कार्यालय, दलका कार्यालयहरु लगायतका संरचनामा आगजनी तथा लुटपाट भएको विवरण सार्वजनिक गर्दै सो घटनामा संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
बिर्तामोड नगरपालिकाको भवन, बिर्तामोड नगरपालिकाका ८ वटा वडा कार्यालय, नेपाल टेलिकम, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय अनारमनी, भाटभटेनी सुपर स्टोर लगायतका संरचनामा तोडफोड र आगजनी भएकाले ठूलो आर्थिक क्षति पुगेको उल्लेख गरिएको छ ।
त्यस्तै, पार्टी नगर कमिटी अध्यक्ष सुवास भट्टराई, पूर्वनगर प्रमुख ध्रुवकुमार शिवाकोटी, प्रदेश सरकारका मन्त्री एकराज कार्की, नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाध्यक्ष मदन बुढाथोकी लगायतको घर तथा गाडीमा समेत आगजनी र लुटपाट भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैबीच, पत्रकार सम्मेलनमा पूर्वप्रधानन्यायाधीश नेतृत्वको ‘असंवैधानिक सरकार’ले संसदले पारित गरेको बजेट रोकेपछि बिर्तामोडमा विनियोजित करिब २८ करोड रुपैयाँ बराबरका विभिन्न सडक र पूर्वाधार योजनाहरू ठप्प परेको बताइएको छ । रोकिएका योजनाहरू तत्काल कार्यान्वयन गर्दै ठेक्का प्रक्रिया सुरु गर्न सरकारले कदम चाल्नुपर्ने माग एमालेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत विनियोजित बजेट बिर्तामोड रिङरोड निर्माण ४ करोड, बिर्तामोड–गोलधाप–सुन्दरपुर सडक (वडा नं. १०) ३ करोड, शहीद नेत्रमार्ग (बिर्तामोड ९) ४ करोड, सैनिकमोड–तेलकानी पोखरी जानेबाटो (वडा नं. ३ र १०) ३ करोड, जिराइतटोल सडक स्तरोन्नति (वडा नं. ५) ३ करोड, झापा–मिनाचोक उखुबारी भुतेनी पूल भवानीमार्ग (वडा नं. १०) ३ करोड, झापा क्षेत्र नं. २ चक्रपथ स्तरोन्नति (बिर्तामोड खण्ड) ८ करोड गरी २८ करोड रुपैयाँको योजना रोकिएकाले तत्काल अघि बढाउन माग गरिएको छ ।
यस्तै, सहरी विकास मन्त्रालय अन्तरगतका योजनाहरु हर्चना पूल उत्तर खोलामा ७ किमी तटबन्ध ३ करोड, सैनिकमोड–तेलकानी पोखरी जानेबाटो ३ करोड, डिजाइनर फर्निचर दक्षिण प्रकाश उप्रेतीको घरबाट पूर्व रुद्र बोर्डिङ हुँदै बसपार्क जोड्ने बाटो ३ करोड, मोहनमाया मावि भवन निर्माण ३ करोड, बिर्तामोड ८ देउनियाँबाट घैलाडुब्बा जोड्ने सडक ३ करोड, देउनियाँ पूल दक्षिण मसले टोल हुँदै बिर्तामोड ७ जोड्ने सडक निर्माणमा ३ करोड, मण्डामार्ग कालोपत्रेका लागि विनियोजित ३ करोडसहित दर्जनौं योजनाहरु रोकेर कारण तत्काल उक्त योजनाहरु चालु गर्न माग गरिएको छ ।
यसैबीच, कात्तिकमा परेको बेमौसमी वर्षाका कारण पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको भन्दै पार्टीले तीनै तहका सरकारले प्रभावित किसानलाई उचित क्षतिपूर्ति व्यवस्था गर्न माग गरेको छ ।
त्यसैगरी, केन्द्रीय निर्णय अनुसार कात्तिक २२ गते वडास्तरीय, २५ गते पालिकास्तरीय (बिर्ताबजार) र २९ गते जिल्लास्तरीय जागरणसभा गर्ने निर्णय सार्वजनिक गरिएको छ ।
विज्ञप्तिमा प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन भएको आरोप लगाउँदै पुनःस्थापना र संविधान संशोधनमार्फत नवयुवाको मुद्दा समाधान हुने वातावरण बनाउनुपर्ने स्पष्ट गरिएको छ ।
यस्तै, एमालेले गरामनी बजारमा शहीदहरुको प्रतिमा तोडफोड हुनुलाई अपराध गरेको भन्दै उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न माग गरेको छ । एमालेले वर्तमान राजनीतिक अस्थिरताको फाइदा उठाउँदै अराजक तत्व सक्रिय रहेको ठहर गर्दै व्यवसाय, शिक्षा र सर्वसाधारणको सुरक्षामा प्रशासन गम्भीर हुनुपर्ने माग गरेको छ । यता, उजुरी दिने पीडितको अधिकार सुरक्षित गर्नु राज्यको दायित्व भएको भन्दै प्रहरी प्रशासनलाई शान्ति–सुरक्षा मजबुत बनाउन आग्रह गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति एमालेले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारलाई क्षतिपूर्ति तथा न्याय सुनिश्चित गर्न माग गरेको छ ।
























































