पाँचथर,
पाँचथरको सल्लेरी, सुभाङ हुँदै अमरपुर जोड्ने ११.९५ मिटर सडक कालोपत्रे गर्ने कार्य अहिले निर्माणाधीन अवस्थामा छ। तर योजनाको अन्तिम बिन्दुबाट खिचिएको एउटा तस्बिर प्रयोग गर्दै सामाजिक सञ्जालमा निर्माण कार्यबारे भ्रम सिर्जना गरिएको छ।
तस्बिरमार्फत ‘हिलोमै कालोपत्रे गरिएको’ भन्दै आलोचना गरिएको हो। तर उक्त तस्बिर योजनाबाहिरको क्षेत्र खिचेर योजनाभित्रकै कामलाई लक्षित गरी प्रचार गरिएको पत्ता लागेको छ।
उक्त सडक निर्माण कार्य सडक डिभिजन कार्यालय इलाम र स्थानीय पूर्वाधार विकास कार्यालय इटहरीको संयुक्त लगानीमा भइरहेको हो। सडक डिभिजन इलामबाट ५.२५ मिटर र स्थानीय पूर्वाधार कार्यालय इटहरीबाट ६.७० मिटर गरी कुल ११.९५ मिटर सडक कालोपत्रे गरिँदै छ।
निर्माणको जिम्मा पाएको अधिकारी निर्माण सेवाका शिव अधिकारीले योजनाको दायरा स्पष्ट गर्दै भने, “जहाँसम्म योजना छ, त्यहाँसम्मको काम प्राविधिक मापदण्डअनुसार अघि बढिरहेको छ। तर अन्तिम बिन्दुबाट बाहिरको हिलो भाग देखाएर नियोजित रूपमा बदनाम गर्ने प्रयास भएको छ।”
उनका अनुसार हालसम्म कालोपत्रे प्रक्रिया अन्तिम चरणमा पुगेको छ। योजनाअन्तर्गत सडक डिभिजन इलामबाट ८६ लाख रुपैयाँ र स्थानीय पूर्वाधार कार्यालय इटहरीबाट ८३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ।
स्थानीयवासी र जनप्रतिनिधिहरूले पनि योजनाको दायरा नबुझी आलोचना गर्नु गलत भएको बताएका छन्। सुभाङका एक स्थानीयले भने, “हामीले वर्षौंको मेहनतपछि सडक कालोपत्रे हुँदै गरेको देखेका छौं। अहिले आलोचना होइन, सहयोग गर्ने बेला हो।”
निर्माण कम्पनीका अनुसार ग्राभेल, बिटुमिन तह र कालोपत्रे काम मापदण्डअनुसार भइरहेको छ। कम्पनीले चाँडै नै काम सम्पन्न गर्ने तयारी गरिरहेको जनाएको छ।
यसरी तस्बिरको भरमा योजनाबारे नकारात्मक धारणा बनाइँदा निर्माणको गुणस्तरमाथि होइन, नियतमा प्रश्न उठ्ने सरोकारवालाहरूको भनाइ छ।



























































