झापा, आषाढ १६ –
आगामी आषाढ १४ गते बिर्तामोडमा आयोजना हुने “ दोस्रो हेल्थ टुरिज्म महोत्सव –२०८२” को तयारी तीव्र बनाइएको छ। हेल्थ टुरिज्म बोर्डको आयोजनामा हुने यस महोत्सव १दिन सञ्चालन हुनेछ।
महोत्सव को उद्देश्य कोशी प्रदेश लाई स्वास्थ्य तथा पर्यटनको प्रमुख गन्तव्यस्थल बनाउने रहेको छ। विशेषगरी बिर्तामोड क्षेत्रलाई अस्पताल, क्लिनिक, आयुर्वेद केन्द्र, होटल व्यवस्थापन तथा हेल्थ सेक्टरसँग जोडिएर समग्र विकासको वातावरण निर्माण गर्न महोत्सव आयोजना गरिँदैछ।
पर्यटन मार्फत स्वास्थ्य सेवा र पर्यटन व्यवस्थाबीच सहकार्यको वातावरण सिर्जना गर्नु प्रमुख उद्देश्य रहेको महोत्सव आयोजक समितिका संयोजक शेखर ढकारले बताए।उनले नेपालको गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धन गर्नु ,
छिमेकी मुलुक (भारत, बंगलादेश, भुटान आदि) का नागरिकलाई नेपालमा स्वास्थ्य सेवा प्राप्त गर्न आकर्षित गर्नुसाथै अस्पताल, क्लिनिक, आयुर्वेद केन्द्र, थेरापी, फार्म उद्योग र होटल व्यवसायहरूसँग सञ्जाल निर्माण गर्नु साथै गुणस्तरीय सेवा तथा उत्पादनको जानकारी दिनु रहेकाे बताए ।
कार्यक्रमको महत्वबारे प्रष्ट पार्दै पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले पूर्वी नेपालको स्वास्थ्य पर्यटनको सम्भावनालाई उजागर गर्न महोत्सव महत्वपूर्ण हुने बताएका छन्।उनले स्थानीय रोजगारी र आय आर्जनका अवसरहरू सृजना गर्ने,गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धन तथा जनचेतना फैलाउने साथै समुचित नीति निर्माणमा महोत्सवले सहयोग पुग्ने अपेक्षा राखेका छन्।
नाटाका महासचिव नवीन खरेलले महोत्सव पश्चात अन्तर्राष्ट्रियस्तरमा नेपालको स्वास्थ्य पर्यटनको पहिचान स्थापित गर्ने ठूलो योगदान पुग्ने उल्लेख गरे।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहभागिता रहनेछ। दोस्रो पटक बिर्तामोडमा आयोजना गरिएको सो महोत्सवमा कोशी प्रदेशका १०० भन्दा बढी स्वास्थ्य क्षेत्रका स्टलहरू रहने महोत्सवका पूर्व संयोजक एवं पर्यटन व्यवसायी उदय श्रेष्ठले बताए । सो महोत्सव सम्पन्न गर्दा ५ लाख बढी खर्च हुने आकलन गरिएको छ भने महोत्सवमा २० हजार बढीले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ।
अहिले पनि लाखौंकाे सङ्ख्यामा भारत बङ्गलादेश र भुटानबाट नेपालमा उपचार गराउन बिरामीहरू आउने गरेका छन्। विशेषगरी आँखाको र क्यान्सरको उपचार गराउन बिर्तामोड प्रमुख गन्तव्य बन्दै गएको छ। उपचार पश्चात् नेपालमा केही दिन घुमफिर गर्ने वातावरण बनाउन सके नेपालको पर्यटन क्षेत्रमा ठूलो मद्दत पुग्न सक्ने आयोजकले अपेक्षा गरेको छ। सोही अनुरुप प्रचारप्रसारलाई तीव्र पारिने र पर्यटकहरूलाई सम्भावित गन्तव्यका बारेमा जानकारी दिने उद्देश्य समेत रहेको जनाइएको छ।