काठमाण्डाै – गएको चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक घटनाका आरोपीहरूको बयान शुरू भएको छ । हिजो दर्ता भएको मुद्दामा आजदेखि काठमाण्डाै जिल्ला अदालतमा प्रतिवादीहरूको बयान शुरू भएको हो ।

चैत १५ गतेको आन्दोलनका कमान्डर दुर्गा प्रसाईंसहित ५० जनालाई व्यक्ति विशेष मुद्दा र ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत मुद्दा दायर गरेको सरकारी वकील कार्यालय काठमाण्डौले जनाएको छ ।

यस्तै आरोपी चार जना बालकविरुद्ध भने आज बाल अदालतमा मुद्दा दायर भएको छ । एक बालकलाई राज्यविरुद्ध र अन्य तीन जनाविरुद्ध आपराधिक उपद्रवमा मुद्दा दर्ता गरेको कार्यालयले जनाएको छ । एक सय आठ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिए पनि जिल्ला सरकारी वकीलको कार्यालयले चार बालकसहित ६५ जनाविरुद्ध मात्र अभियोगपत्र दायर गरेको हो ।

राजावादीले चैत १५ गते गरेको प्रदर्शन हिंसात्मक बन्दा पत्रकार सुरेश रजक र कीर्तिपुर नगरपालिका– ४ का सविन महर्जनको ज्यान गएको थियो ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए । गोली लागेर घाइते भएका तीन जना अझै पनि उपचारका क्रममा छन् । तीनकुनेको प्रदर्शनमा निजी घर, अस्पताल, बैंक, पार्टी कार्यालय, सरकारी कार्यालय, गाडीलगायतमा क्षति पुगेको थियो ।