काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बीमा बोर्डको कोषमा एक खर्ब रकम जम्मा भएमात्रै स्वास्थ्य सेवा दिनसक्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नागरिकको सहुलियतपूर्ण स्वास्थ्य सेवाका लागि बीमा प्रणालीमा आबद्ध हुनुपर्ने बताए। उनले सरकारको लगानी र नागरिकको योगदानमा आधारित बीमाले मात्रै स्वास्थ्य सेवा सहज हुने बताए।

सरकारी कर्मचारीको बीमा गर्ने जिम्मा लिए पनि पैसा तिर्न नसकेको उनको भनाइ छ। उनले स्वास्थ्यमा समाजवाद ल्याउन बीमा मात्रै उपाय भएको बताए। उनले सबैको सहयोगमा स्वास्थ्य बीमा प्रणाली लागू भयो भने नागरिकले सयमा आठ रुपैयाँ खर्च गरेर स्वास्थ्य सेवा पाउने बताए।

मन्त्री पौडेलले भने, ‘सरकारले जजसको बीमा गर्छ भनेको छ त्यसको पैसा तिर्न सकेको छैन।  बीमा बोर्डको कोष एक खर्बभन्दा बढी भयो भने बल्ल हामीले अपेक्षा गरेअनुसार राज्यले स्वास्थ्य सेवा दिन सक्छ। यदि यो बीमा प्रणाली लागू गरियो भने नागरिकको गोजीबाट ८ रुपैयाँ मात्रै खर्च गर्नुपर्ने हुन्छ। त्यसैले यसलाई लागू गर्ने कोसिस गरिएको छ। यसका सबैको सहयोगका निम्ति अनुरोध गर्न चाहन्छु।’

मन्त्री पौडेलले आर्थिक रूपमा संघीयता बोझिलो बनेकाले संघीय र प्रदेश सरकारमा सांसद संख्या घटाउनुपर्नेमा जोड दिए। छरितो संघीयता विकास गर्नुपर्ने उनको भनाइ छ।