काठमाडौँ : प्रतिकूल मौसमका कारण यो वर्ष नेपालमा अलैंचीको उत्पादन घट्ने अनुमान गरिएको छ। अलैंची हेर्ने संघीय एवं एउटै मात्र कार्यालय अलैंची विकास केन्द्र फिक्कल, इलामका प्रमुख एवं माटो विज्ञ राजन परियार पानी नपर्दा सुक्खा भएर अलैंचीको उत्पादन घट्न सक्ने बताउँछन्।

‘अघिल्लो वर्षको भन्दा बढी उत्पादन हुँदैन, बरु पाँच दश प्रतिशत घट्न सक्छ’‚ उनले भने। 

पछिल्ला तीन वर्षमा जलवायु परिवर्तनसँगै पानीको पर्याप्त व्यवस्था गर्न नसक्दा र रोगले किसानको बगान नै सखाप हुँदा राष्ट्रियस्तरमै उत्पादन आधा घटेको परियारले जानकारी दिए।

अलैंची विकास केन्द्रका अनुसार अघिल्लो वर्ष ५ हजार मेट्रिक टन अलैंची उत्पादन भएको थियो। ‘मौसम अनुकूल नहुँदा ८ हजार मेट्रिक टन उत्पादन हुने ठाउँमा पाँच हजार मेट्रिक टनसम्म घट्यो, अझै पनि पाँच दश प्रतिशत घट्न सक्छ, यसले गर्दा अर्को वर्ष पनि मूल्य कम नहोला भन्ने छ’‚ उनले थपे।

अलैंची व्यवसायी महासंघ केन्द्रीय कार्यालयका कार्यकारी अधिकृत अनिल ढुंगाना जलवायु परिवर्तनका कारण सिजनमा पानी नपर्दा अलैंची डढेर सुकेकाले यो वर्ष पनि उत्पादन घट्ने बताउँछन्।

‘पोहर अघिल्लो वर्ष भन्दा घटेर ४ हजार मेट्रिक टन मात्र भयो, अब पनि पानी परेन भने यो पाली ३ हजार ३५ सय मेट्रिक टन मात्र उत्पादन होला’‚ ढुंगानाले भने। आर्थिक वर्ष ०८०।८१ मा ५० प्रतिशत उत्पादनमा ह्रास आएको थियो। आव ०७९।८० मा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँको अलैंची निर्यात भएको महासंघले जनाएको छ ।